छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला

ssapana44@gmail.com' jamuna aryal
८ पुष २०७५, आईतवार १२:४६

जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार ६ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गएकाे कात्तिक महिनादेखि घर निकाला भएकी हुन् । 

२६ वर्षीया झनमायाले ६ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताउनुभयो । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उहाँले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिनुभएकाे छ ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उहाँको उपचारमा सहयोग नभएको बताइएको छ ।

पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मिएको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमानकाे दबाबमा गर्भपतनसमेत गरेको उहाँको भनाइ छ । 

“पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ” झनमायाले भन्नुभयो, “श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।” गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उहाँले जन्मदै छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताउनुभयो । 

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस ‘बी’ को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो । छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान् भने कहाँ छन् भन्ने पत्तोसम्म नभएको झनमायाले बताउनुभयो । 
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१