वीरेन्द्र बाँचेका भए राष्ट्रपति हुन सक्थे : एमाओवादी नेता

– यस्तो थियो दरबार र माओवादीको गोप्य साँठगाँठ
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको बंश विनाश भएको १३ वर्ष लागेको छ । एमाओवादी नेताका अनुसार ०५८ साल जेठ १९ गते वीरेन्द्रको हत्या हुनुभन्दा केहीसाता अघि मात्रै विद्रोही नेता प्रचण्ड र तत्कालीन राजा वीरेन्द्रवीच गोप्य वार्ताको तयारी थालिएको थियो । ०५८ बैसाखमा बीरेन्द्रका भाइ धीरेन्द्र शाहसँग लाजिम्पाटमा माओवादी नेताको वार्ता भएको थियो । तर, अर्को वार्ता हुन नपाउँदै धीरेन्द्र शाहसहित वीरेन्द्रको बंशनाश भयो । एमाओवादीले एकातिर सशस्त्र संघर्ष गरिरहेको थियो भने अर्कातिर राजधानीमा एमाओवादी नेता र दरबारियाहरुवीच सम्पर्क र सम्बन्ध पनि जीवितै थियो । जनयुद्धका बेला नेपाली सेनाको गुप्तचर विभाग (डीएमआइ)का तत्कालीन कर्णेल दिलिप रायमाझी र एमाओवादी केन्द्रीय सदस्य कृष्णध्वज खड्कावीच सोझो सम्पर्क हुने गरेको थियो । रोल्पाको होलेरीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीविरुद्ध पहिलोपटक सेना परिचालन गर्दा एमाओवादी नेता खड्का र कर्णेल रायमाझीवीच सम्पर्क भएपछि दरबारले सेना परिचालन गर्न दिएन र गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपर्यो । एमाओवादी नेता खड्काको सोझो सम्पर्क दरबारिया र पार्टी अध्यक्ष प्रचण्डसँग थियो । ‘मैले ०५८ साल बैसाखतिर धीरेन्द्र शाहसँग लाजिम्पाटको एक घरमा वार्ता गरेको थिएँ । दाजु (वीरेन्द्र) सँग कुरा राखेपछि प्रचण्ड र वीरेन्द्रवीच सोझै वार्ता गर्ने र निकास निकाल्ने समझदारी भएको थियो ।’ एमाओवादी नेता खड्काले अनलाइनखबरसँग भने- ‘तर, त्यसको केहीसाता नबित्दै जेठ १९ मा दरबार हत्याकाण्ड भएकाले प्रचण्ड र वीरेन्द्रवीच वार्ता गराउने प्रयास सफल हुन सकेन ।’ धीरेन्द्रले
आफूसँगको वार्ताका क्रममा तत्कालीन राजा वीरेन्द्र नेपाली दाजुभाइ आपसमा मारामार गर्न नहुने पक्षमा रहेको र सहमतिकै आधारमा निकास खोज्नुपर्नेमा सहमत रहेको बताएको खड्का स्मरण गर्छन् । ‘तर, दाजु (वीरेन्द्र) माथि माल्दाजु (ज्ञानेन्द्र) को चर्को दबाव छ, माओवादीविरुद्ध सेना परिचालन गर्नुपर्छ भन्ने दबाव पनि छ,’ धीरेन्द्रको भनाइ उधृत गर्दै एमाओवादी नेता खड्काले अनलाइनखबरसँग भने-’दाजु र प्रचण्डवीच तत्कालै भेट गर्न कठिनाइ भए पनि मध्यस्थता गरेर मिलाउन सकिन्छ ।’ वीरेन्द्र र प्रचण्डवीच वार्ता गरेर समस्या समाधान गर्ने मिसन दरबार हत्याकाण्डले असफल नपारेको भए वीरेन्द्र राष्ट्रपति बन्न सक्ने र क्याम्बोडियाजस्तै गणतन्त्रमा जान सकिने एमाओवादी नेताको विश्लेषण छ । ‘माओवादी आन्दोलन बल प्रयोगबाट समाधान हुँदैन भन्ने वीरेन्द्रबाट भइराखेको थियो,’ अर्का एमाओवादी नेता शक्तिबहादुर बस्नेत भन्छन्-
‘क्याम्बोडियामा जस्तो गणतन्त्रको स्थापना वीरेन्द्रकै सहभागितामा हुन सक्थ्यो । जनमत संग्रह, ०४६ को बहुदल घोषणा सबैलाई हेर्दा वीरेन्द्र केही उदार देखिन्थे ।’ दरबार र माओवादीलाई जोड्ने सूत्राधार कृष्णध्वज खड्का धीरेन्द्रसँग
वार्तामा बसेका एमाओवादी नेता खड्काका अनुसार जनयुद्धकालमा उनको सम्बन्ध धीरेन्द्र शाहका साथै सेनाका कर्णेल दिलिप रायमाझी, पूर्वजर्नेलहरु, राजाका ज्याइँ मोहनबहादुर शाही र पूर्वपञ्च मरिचमान सिंह श्रेष्ठ, कीर्तिनिधि विष्ट र सूर्यबहादुर सेन ओली लगायतसँग थियो । रमेशनाथ पाण्डेसँग पनि एमाओवादीको सम्पर्क थियो । पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका खड्का माओवादीको केन्द्रीय सदस्य एवं सूचना विभागको प्रमुख थिए । एक सदस्यीय सूचना विभागको प्रमुखको हिसाबले खड्काको सोझो सम्पर्क प्रचण्डसँग थियो भने राजधानीको भूगोलमा उनी केन्द्रीय प्रचार- प्रसार तथा राजनीतिक उपब्यूरोमा थिए । सो उपब्यूरोको नेता रवीन्द्र श्रेष्ठ थिए भने बादल ब्यूरोका प्रमुख थिए । खड्काका अनुसार दरबारसँगको सम्वादको सूचना प्रचण्ड र बादलसँग पुर्याइने गरिएको थियो । ज्ञानेन्द्रलाई सिंहानुक बनाउने प्रयास ‘वीरेन्द्रको बंशनाशपछि हामीले देशव्यापी गणतन्त्रको घोाषणा गर्न थाल्यौं, २/३ महिना ज्ञानेन्द्रसँग सम्वाद भएन’ खड्काले विगत सम्झँदै भने-’राजा भएपछि ज्ञानेन्द्रले हामीसँग सम्पर्क गर्ने निकै प्रयास गरे । म त्यसैबेला जेल परें । तर, हामीले ज्ञानेन्द्रलाई सीधै प्रस्ताव राख्यौं, तपाईलाई राजा मान्ने स्थिति छैन, पारसलाई उत्तराधिकारी मान्ने स्थिति पनि छैन, त्यसैले गद्दी छाडेर नरोदम सिंहानुक बन्नोस्, प्रथम राष्ट्रपति हुनोस् ।’ तर, ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि नयाँ ‘मुभ’ अघि बढेको र ज्ञानेन्द्रसँगको वार्ता टुटेको खड्काले बताए । होलेरी काण्डमा गिरिजाले राजीनामा दिएपछि संसदीय व्यवस्था नेपालमा फेल भयो र अब देशभक्त शक्ति एक हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष थियो, पछि ज्ञानेन्द्रले ‘कु’ गरेपछि परिस्थिति अर्कै बन्यो ।

मङ्लबार, जेष्ठ २०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्