कला संस्कृति जोगाउन थारु अगुवा जागरुक बन्दै

दीपक अनुरागी आचार्य
कपिलवस्तु  । कपिलवस्तुका थारु अगुवा यतिबेला लोप हुने अवस्थामा पुगेको थारु जातिको परम्परागत कला संस्कृतिलाई जोगाउन अग्रसर भएका छन् । पश्चिमा संस्कृतिको प्रभावले युवापुस्ताहरु आधुनिक कला संस्कृतिप्रति आकर्षित बन्दै गएपछि थारुहरुको परम्परागत कला संस्कृतिको जगेर्नाका लागि थारु अगुवा जागरुक बनेका हुन् । त्यस्तै जिल्ला विकास समितिको आदिबासी जनजाति कोष अन्तर्गत बाद्यबादन सम्बन्धी १५ दिने तालिम जिल्लाको दुर्गम गा.वि.स.गुगौली ४ लोहरौलामा संचालन भएको छ ।
थारु जातिको बसोबास रहेको उक्त बस्तीका युवापुस्तालाई पुरानो पुस्ताका ज्ञान, सीप, कला, दक्षता हस्तान्तरण गर्न बाद्यबादन तालिम संचालन गरिएको आयोजकले जनाएको छ । तालिममा युवायुवती गरी झण्डै २० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण छेदीप्रसाद थारुले गरेका थिए ।  थारु जातिको जातीय पहिचान, सामाजिक रीतिरिवाज र कला संस्कृतिको विकास प्रवर्धनका लागि थारु कल्याणकारिणी सभाले यतिबेला युवापुस्तालाई विभिन्न किसिमका परम्परागत ज्ञानसीप दिन थालेको थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जंजीर प्रसाद थारुले बताए ।
तालिम उद्घाटन सत्रमा थारु समाजसेवी महादेव थारु, झगरु थारु, रामनारायण थारु लगायतले तालिम सान्दर्भिक र प्रभावकारी रहेको औल्याएका थिए । थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जंजीर प्रसाद थारुको अध्यक्षता, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष गणेश कुमार थारुको प्रमुख आतिथ्यता एवं थारु कल्याणकारिणी सभा केन्द्रिय परिसद सदस्य भोजराज थारुको विशेष आतिथ्यतामा तालिम उद्घाटन गरिएको स्थानीय नेपाल थारुले जनाए ।

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्