बत्तीमुनिको अँध्यारो : धनगढी

शंकर अवस्थी कञ्चनपुर,

dhangadi । बत्तीमुनिको अँध्यारो भने जस्तै धनगढी नगरपालिका क्षेत्रका कतिपय टोलका बासिन्दा अझै पनि न्यूनतम आधारभूत सुविधाबाट वञ्चित रहँदै आएका छन् ।
आधारभूत सुविधा उपलब्ध गराइदिन नगरपालिकासँग पटकपटक अनुरोध गरिए पनि कुनै सुनुवाइ नभइरहेको गुनासो स्थानीयवासीको छ ।
नगरपालिका कार्यालयबाट नजिकै रहेको वडा नं २ को सरस्वती नगर र साईले कटान वडा नं १ को दलित बस्ती, वडा नं ८ को गाउँ धनगढी टोल, वडा नं ७ को बेली र देवहरियालगायतका टोलमा खानेपानी, उचित बाटोको समस्या रहेको छ भने अन्य कतिपय टोलमा अहिलेसम्म पनि बिजुली र टेलिफोनलगायतका आधारभूत सुविधासम्म पुग्न सकेको छैन ।
चौध वडा रहेको नगर क्षेत्रको वडा नं ९, १०, ११, १२, १३ र १४ नं वडामा पनि आधारभूत सुविधा नपुग्दा यी वडाका अधिकांश बासिन्दाले नगर क्षेत्रमा बसेको अनुभूतिसमेत गर्न पाएका छैनन् । आधारभूत सेवा सुविधा पाउन नसक्दा आफूहरु दुर्गम गाउँका बासिन्दाझैँ बस्नुपरेको वडा नं १३ का स्थानीय देवराजले गुनासो गर्नुभयो ।
विगत एक दशकभन्दा बढी समयदेखि जनप्रतिनिधिविहीन रहेको अवस्थामा नगरपालिका ले योजना छनोटको प्रक्रिया पु¥याउने नाममा हुने गरेका भनिएका वडा भेलामा टाठाबाठा र पहँुचवालाहरुले भने बमोजिमको क्षेत्रमा मात्रै योजना पार्ने गरिएका कारण नगरका दशकौँदेखिका बस्तीमा अझैसम्म पनि आधारभूत सुविधा पुग्न नसकेको हो । “योजना छनोट र प्राथमिकीकरणमा नगरपालिकाको भूमिका निष्पक्ष नदेखिएको र पहँुचवालाहरुको सुनुवाइमात्र हुने गरेको गुनासो स्थानीय चेतराज भट्ट गर्नुहुन्छ ।

नगर क्षेत्रमा उचित ढल निकासको व्यवस्था नहुँदा वर्षायाममा नगर क्षेत्र पूरै डुबानमा पर्ने गरेको मात्र नभइ फोहर व्यवस्थापन पनि हुन नसक्दा वातावरण दुर्गन्धित बन्दै गएको छ । बिनायोजना जथाभावी रुपमा घरलगायतका संरचना निर्माण गर्ने, खोला नालाको जग्गा पनि व्यक्तिको नाममा दर्ता गर्ने र खोलामै संरचनाहरु निर्माण गर्नेजस्ता समस्याका कारण धनगढी नगर क्षेत्रमा बर्सेनि डुबानको समस्या बढ्दै गएको छ ।

नगरपालिकाका इन्जिनियर द्विजराज भट्ट भने कार्यालयसँग पर्याप्त साधन स्रोतको अभाव रहेका कारण नगरवासीको अपेक्षाअनुसारका सबै माग पूरा गर्न नसकिएको स्वीकार्नुहुन्छ । वडाको जनसङ्ख्या र क्षेत्रफल, गरिबीको स्तर र वडाबाट प्राप्त हुने राजस्व प्रतिशतलाई आधार मानेर योजनाहरुमा बजेट बाँडफाँड हुने गरेको र भेदभाव नगरिएको दाबी उहाँको छ ।

विसं २०३३ मा नगरपालिका घोषणा भएको धनगढी नगरपालिकामा पछिल्लो केही वर्षदेखि बसाइँसराइ बढेसँगै जनसङ्ख्या पनि बढेर करिब एक लाख तीन हजार पुगेको छ । नगर क्षेत्रमा कृषि योग्य जग्गा घडेरीमा बिक्री हुने क्रम पनि बढ्दै जाँदा ती घडेरीहरुमा बर्सेनि सयौँ सङ्ख्यामा घर निर्माण हुने गरेका छन् ।

नगरपालिकाले वर्षभरिमा करिब रु दुई करोड ७५ लाख आन्तरिक आम्दानी गर्ने गरेकामा सरकारबाट अनुदानस्वरुप वार्षिक करिब रु १० करोड बजेट आउने गरेको छ ।

 

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्