ट्राफिक प्रहरीको अभियानले सवारी दुर्घटना घट्यो

परासी, १४ वैशाख । नवलपरासीमा गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि स्थानीयस्तरमा समिति गठन गरेर सञ्चालन गरिएको सचेतना कार्यक्रम र चेकजाँचमा गरिएको कडाईले दुर्घटना घटेको हो ।

समिति गठन गरेर अभियान सञ्चालन गरेका राजमार्गका गाविसमा रजहर, कावासोती, प्रगतिनगर, गैँडाकोट, मुकुन्दपुर, तम्सरिया, सुनवल, बर्दघाट र दुम्किवास छन् । गत वर्ष कुल ५२ वटा दुर्घटनाबाट १६४ ले ज्यान गुमाएका थिए , ३०० भन्दा बढी घाइते भएका थिए ।

यस आर्थिक वर्षको असारदेखि वैशाख १२ गतेसम्मको १० महिनाको अवधिमा ३० दुर्घटनाबाट ८५ जनाले मात्र ज्यान गुमाएका छन् भने करिब सयको हाराहारीमा घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उनान्सय किमी लामो राजमार्गले छोएको जिल्लामा राजमार्गसँगै सुनवल—परासीदेखि महेशपुर  र दलदले बुलिङटारसम्मको सडकखण्डमा सबैभन्दा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीले जनाएको छ । अटोमोबाइल एसोसिएसन र यातायात व्यवसायीको सहयोगमा  चालक र सहचालकहरुलाई समेत ट्राफिक चेतना प्रदान गरिएको बताइएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी  निरीक्षक मुरारी मिश्रले दुर्घटना न्यूनीकरणका लागि राजमार्गस्थित नौ स्थानमा दुर्घटना न्यूनीकरण तथा समन्वय समिति गठन गरिएको बताउनु भयो ।

त्यस्ता न्युनीकरण तथा समन्वय समिति क्रमशः अन्य स्थानमा पनि विस्तार गरेर आगामी वर्षदेखि अझ बढी दुर्घटनामा कमी ल्याउने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । समितिमार्फत विद्यालय स्तर, आमा समूह र विभिन्न समितिहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका साथै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारवाही तीव्र पार्न थालेपछि दुर्घटना घट्दै गएको हो ।

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्