संविधान जारी हुनु अगावै स्थानीय निकाय निर्वाचन गराउन सहमति गरिने

पोखरा, १४ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले कानुनी मान्यता पाएपछि लामो समयसम्म सशस्त्र द्वन्द्वकालका अमानवीय अपराधका दोषीलाई कारबाही गर्न सजिलो हुने बताउनुभएको छ । पोखरा हार्डवेयर एसोसिएसनको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै गृहमन्त्री गौतमले अब शान्ति प्रक्रियाका बाँकी सबै काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो । एक वर्षभित्र नयाँ संविधान जारी गर्न सबै राजनीतिक दल सहमत भइसकेको बताउँदै उहाँले संविधान जारी हुनु अगावै स्थानीय निकायको निर्वाचन गराउन एकीकृत नेकपा (माओवादी) र मधेसकेन्द्रित दललाई पनि सहमतिमा ल्याइने बताउनुभयो । स्थानीय निकायमा जनप्रतिनिधि नुहँदा परिवर्तनका उपलब्धि जनतासमक्ष पु¥याउन नसकिएको धारणा राख्दै उहाँले प्रत्येक वर्ष सरकारले स्थानीय निकायमा पठाउने गरेको अर्बौको बजेट सही ठाउँमा प्रयोग नभएकाले नै छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो । उपप्रधानमन्त्री गौतमले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणको काम सुरु भइसकेको र अब यसलाई तीव्रताका साथ निर्माण गरिने जानकारी दिँदै पोखराका प्राकृतिक संरक्षण र विकासका पूर्वाधार निर्माणमा यथेष्ट बजेट छुट्टयाइने बताउनुभयो । कार्यक्रममा सभासद्द्वय यज्ञबहादुर थापा र रवीन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त भवन रु एक करोड आठ लाख ७१ हजार ६९ को लागतमा निर्माण भएको हो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने उद्योग प्रतिष्ठान र व्यक्तिलाई सम्मान गरिएको थियो । ‘एकै व्यक्तिले पटक पटक नेतृत्व गर्नु हुँदैन’ नेकपा (एमाले)का उपाध्यक्ष गौतमले आगामी जेठमा हुने एमालेको महाधिवेशनले पार्टीलाई आन्तरिक रुपमा एकताको सन्देश दिन र आफू र संसदीय दलका नेता केपी शर्मा ओली एकै ठाउँमा उभिएको बताउनुभएको छ । एमाले कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाटमा नेता गौतमले नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियालाई अघि बढाउन र नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन अध्यक्ष पदका उम्मेदवार ओलीलाई आफूले समर्थन गरेको जानकारी दिनुभयो । एकताबद्ध नभई अरुलाई गोलबन्द गर्न सकिँदैन भन्दै उहाँले एकै व्यक्तिले पटक पटक नेतृत्व लिने प्रवृत्ति हावी हुँदै गयो भने पार्टी अघि बढ्न नसक्ने विचार पनि व्यक्त गर्नुभयो ।

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्