छुट्टा छुट्टै टिम बनाउँदै नेपाल र ओली

पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षको दौडमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुई तहमा अभियानकर्ता परिचालन गरेका छन् । महाधिवेशनमा कार्यकर्ताको पंक्ति आफूतिर तान्न एउटा र वैचारिक बहसका लागि अर्काे तह परिचालित भएका हुन् ।

दुवैतर्फका केन्द्रीय सदस्यहरू आ–आफ्नो पक्षको लबिङमा रहे पनि मुख्य सारथि भने थोरै छन् । सचिव युवराज ज्ञवाली, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट महाधिवेशनमा नेपालको पक्षमा माहोल बनाउन कार्यकर्तासँग सम्पर्कमा खटेका छन् । उनीहरूमध्ये पनि पाण्डे, रावल र पन्त बढी सम्पर्क र समन्वयमा छन् । नेपालको पक्षमा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्य पनि छन्, तर उनीहरू कार्यकर्ता परिचालनको तहमै भने सक्रिय छैनन् ।

नेपालको वैचारिक समूहमा घनश्याम भुसाल, योगेश भट्टराई र विजय पौडेल सक्रिय छन् । भुसालले अगाडि सारेको विचारमा वरिष्ठ नेता नेपाल पूर्ण रूपमा सहमत छैनन् । भुसाल नेपाली समाज पूर्ण रूपमा पुँजीवादी भएको बताउँछन् भने नेपाल पुँजीवादउन्मुख संक्रमणकाल भन्छन् । भुसाल, भट्टराई र पौडेल वैचारिक बहस चलाउन सक्रिय रहे पनि उनीहरू नेतृत्वको पक्षपोषणमा खुलेर लाग्ने वेला भइनसकेको बताउँछन् । तर, ओली र नेपालबीच प्रतिस्पर्धा हुने अवस्थामा नेपाललाई साथ दिन उनीहरू तयार छन् । भुसालको अगुवाइमा केही समयअघि आयोजित नेपाल अध्ययन केन्द्रको कार्यक्रममा उनीहरूले अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाललाई वक्ता बनाएका थिए । ओली दिल्लीमा रहेको बताएर सो समूहलाई कार्यक्रममा ननिम्त्याए पनि उपाध्यक्ष गौतम वा महासचिव पोखरेललाई समेत कार्यक्रममा बोलाइएको थिएन ।

ओलीको पक्षमा माहोल बनाउन उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय विष्णु पौडेल, शंकर पोखरेल, पोलिटब्युरो सदस्य प्रदीप नेपाल, प्रदीप ज्ञवाली, महेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सक्रिय छन् । यीमध्ये उपाध्यक्ष गौतम, महासचिव पोखरेल, सचिवद्वय पौडेल र पोखरेल तथा पोलिटब्युरो सदस्य रिमाल बढी सक्रिय छन् । यो समूह ओलीको पक्षमा माहोल बनाउने रणनीतिअन्तर्गत सार्वजनिक कार्यक्रममा बोल्ने, अञ्चलगत कार्यकर्ता भेट्ने काममा लागेको छ ।

अध्यक्षका दाबेदार ओलीले आफैँले दाबी प्रस्तुत नगरी गौतम, पोखरेल, पौडेलमार्फत अभिव्यक्ति सार्वजनिक गर्ने र सांगठनिक परिचालन गर्ने गरेका छन् । शनिबार मेची अञ्चल सम्पर्क कमिटीले गरेको कार्यक्रममा अध्यक्ष खनालकै सामुन्ने महासचिव पाखरेलले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । सो कार्यक्रममा ओलीले भने महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका थिए ।

ओलीको पक्षमा नेताहरू खगराज अधिकारी र कर्णबहादुर थापा पनि महाधिवेशनकेन्द्रित परिचालनमा सक्रिय छन् । पछिल्लोपटक परिचालनको यो तहमा केन्द्रीय सदस्य रघुवीर महासेठ पनि पुगेका छन् । यसअघि उनी नेपालनिकट थिए ।

ओलीपक्षको वैचारिक अभियानको नेतृत्व भने सचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, विदेश विभाग सदस्य राजन भट्टराईले लिएका छन् । यही अभियानमा केन्द्रीय सदस्य राजेन्द्र गौतम, भानुभक्त ढकाल पनि सक्रिय छन् । यो समूहले बुधबार नयाँ बानेश्वरमा पत्रकार भेटघाट गरी महाधिवेशनको वैचारिक पक्षबारे आफ्ना तर्क सार्वजनिक गरेको थियो । ओलीलाई अध्यक्ष बनाउन सक्रिय उपाध्यक्ष गौतम नेपाली समाजको वर्ग विश्लेषणको वैचारिक बहसमा भने भुसालसँग नजिक देखिएका छन् ।

सांगठनिक पकड जमाउन सक्रिय दुवै समूहका कोर टिमले अञ्चल इन्चार्ज, सदस्य तथा जिल्ला अध्यक्ष र पदाधिकारीहरूलाई भेट्ने गरेका छन् । वरिष्ठ नेता नेपालले यस्ता भेटघाटका लागि नयाँ बानेश्वरस्थित जनता बैंकनजिकै सम्पर्क कार्यालयसमेत खोलेका छन् । कार्यालयमा उनका स्वकीय सचिव मोहन गौतम बस्छन् र आवश्यकताअनुसार नेताहरू पाण्डे, आचार्य र विष्ट पुग्ने गरेका छन् । शुक्रबार वरिष्ठ नेता नेपालले अनलाइन पत्रकारहरूसँग राखेको भेटघाट कार्यक्रममा पनि पाण्डे र विष्ट सहभागी थिए । सोही कार्यक्रममा नेपालले पार्टीलाई ‘धनवाद र डनवाद’बाट जोगाउन आफू अध्यक्षमा अग्रसर हुन लागेको सार्वजनिक गरेका थिए ।

टिम बनाउने अभ्यास
नेपाल र ओली दुवै समूहले टिम बनाउने अभ्यास अघि बढाएका छैनन् । तर, जनपरिचालनमा उनीहरूले खटाएका नेताहरूलाई हेरेर एमाले कार्यकर्ताले दुवै समूहबाट सम्भावित पदाधिकारीबारे आँकलन गर्न थालेका छन् ।

वरिष्ठ नेता नेपालको तर्फबाट उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल र अमृतकुमार बोहरा वा अष्टलक्ष्मी शाक्यमध्येबाट एकलाई अघि सार्ने तयारी रहेको स्रोतले बताएको छ । नेपालले महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने तयारी गरेको, तर सार्वजनिक भइसकेकाले केही असजिलो महसुस भएको उनीनिकट स्रोतले बताएको छ ।

ओलीको गठबन्धनमा सक्रिय महासचिव पोखरेल र सचिव विष्णु पौडेलमध्ये एकलाई आफूतिर तानेर महासचिवमा अगाडि सार्ने योजना भए पनि पाण्डेलाई छिट्टै एक्सपोज गर्दा अप्ठ्यारो परेको नेपालनिकट स्रोतको भनाइ छ । महासचिवको पद व्यवस्थापन गर्न नसक्ने अवस्थामा पोखरेल र पौडेलमध्ये एक आफूतिर आउनेमा नेपाल विश्वस्त रहेको स्रोतको दाबी छ । सचिवमा भने नेपालको समूहवाट गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाललाई अगाडि सार्ने तयारी भएको छ ।

ओलीको समूहबाट भने उपाध्यक्षमा गौतम, भण्डारी र प्रदीप नेपाल अग्रसर हुने चर्चा छ । महासचिवमा ईश्वर पोखरेल, सचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीको चर्चा छ । मधेसी समुदायका रघुवीर महासेठ पनि ओलीको समूहबाट पदाधिकारीका दाबेदार मानिन्छन् । नयाँपत्रिकाबाट

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्