कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

बोर्डले आजै परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण यसअघि दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा गत साउन ३१ देखि सञ्चालन गर्ने तयारी गरे पनि कोभिड–१९ को महामारी नियन्त्रण नभएको भन्दै स्थगित गरेको थियो । परीक्षा आउन एक हप्ता बाँकी हुँदा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित भएको थियो ।

कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि पनि बोर्डले यसपटक १०० पूर्णाङ्ककै परीक्षा गराउने गरी भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

बोर्डले परीक्षा दिने परीक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ । बोर्डले गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा भएको थियो ।

बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्