सुत्केरी भएको कति महिनापछि सेक्स गर्न मिल्छ ?

डा. सुमनराज ताम्राकार । अभिभावक बन्न पाउनु सुखद कुरा हो। सन्तान जन्मेलगत्तै यौन क्रियाकलापमा संलग्न हुने कुरामा केही भिन्नता आउन सक्छ। यौनेच्छा एवं यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ। डेलिभरीपछि कहिलेदेखि यौनसम्पर्क राख्ने वा राख्न हुने वा राख्न नहुने भन्ने विषयमा धेरै मानिसमा द्विविधा देखिन्छ। विशेष गरी, गर्भपूर्वजस्तो नियमित रूपमा गरिने यौन सम्पर्कको क्रमभंग भएको अवस्थामा यसलाई फेरि कसरी सुचारु गर्न सकिन्छ ? जवाफ अलि जटिल छ। यसबारे कोसँग सल्लाह लिने भन्ने अन्योल पनि छ। कतिपय अवस्थामा स्वास्थ्यकर्मीले पनि स्पष्ट भनिदिँदैनन्।

डेलिभरी एवं डेलिभरीपछिको अवधिमा आमाले आफ्नो स्वास्थ्यसँगै नवजात शिशुको पनि हेरचाह गर्नुपर्ने हुन्छ। स्तनपान एवं शिशु स्याहारका साथै राति पनि यथेष्ट सुत्ने नपाइने हुनाले निकै थकाइ लाग्ने हुन्छ। स्वाभाविक रूपमा थकाइको बेला सफलतापूर्वक यौन सम्पर्क राखिँदैन। नवजात शिशुका लागि आवश्यक दूध उत्पादनको क्रममा स्तन भारी हुने तथा दुख्ने हुन्छ। यस्तो बेलामा यौनका दृष्टिले महिलाको स्तनको स्पर्श असजिलो लाग्न सक्छ। स्तनपानसँग सम्बन्धित हर्मोनको अधिक उत्पादन एवं इस्ट्रोजेनको मात्रामा केही कमी आई योनिमा सुक्खा हुने हुन्छ। र, यौन सम्पर्क पीडादायी हुन सक्छ।

डेलिभरीपछि शारीरिक थकान, स्तनको भारीपन, दुखाइ, निराशालगायत कतिपय शारीरिक वा मानसिक कारणले यौन जीवनमा नकारात्मक असर परिरहेको हुन सक्छ। त्यसो त परिवारमा नवजात शिशुको आगमन सुखद भए पनि गर्भावस्था एवं प्रसवोत्तर समय पूर्ण रूपमा तनावमुक्त भने होइन।

डेलिभरीका बेला योनिमार्गमा आएको परिवर्तनका कारण पुरुष पार्टनरले केही समय योनि अलि खुकुलो भएको महसुस गर्न सक्छन्। यसले गर्दा यौन क्रियाकलाप त्यति सहज भइरहेको हुँदैन। यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरत (केगेल कसरत) मार्फत यो असहजता हटाउन भने सकिन्छ। यो मांसपेशी संकुचित गरेर यौन सम्पर्कको बेलामा दुवै जनालाई यौनसुख प्राप्त गर्न मद्दत मिल्छ।

गर्भावस्था अनि डेलिभरीपछिको अवस्थामा महिलाको शरीरमा निकै परिवर्तन आउँछ। यस्तो अवस्थामा महिला आफैँलाई आफ्नो शरीर अनाकर्षक लाग्न सक्छ। श्रीमान्ले पनि यस्तै सोचेको होला कि भन्ने पिरले यौन कार्यमा त्यति चाख राख्दैनन्। प्रसवोत्तर समयमा कतिपय आमामा तनाव र निराशा उत्पन्न हुन सक्छ। अनिद्रा, अपुग भोजन र भविष्यको चिन्ताले यौन सम्पर्कमा नकारात्मक प्रभाव पर्ने हुन्छ।

डेलिभरीका बेला शिशु पाउन योनिद्वार ठूलो बनाउन इपिजियोटोमी घाउ बनाउँदा, योनिमार्ग च्यातिँदा वा सिजेरियन शल्यक्रियाको घाउमा पीडा हुन सक्छ। यो प्रसव पीडा माथिको थप पीडा हो। आफ्नै श्रीमती यसरी पीडामा हुँदा वा यौन सम्बन्ध राख्नेबित्तिकै दुखेको गुनासो गर्दा कुन चाहिँ जिम्मेवार श्रीमान्ले यौन क्रियाकलाप अघि बढाउलान् त ? तनाव वा चिन्ताका कारण पनि यौन सम्पर्कको बेला योनिमा बढी पीडाको अनुभूति हुन सक्छ। पीडादायी यौन सम्पर्कमा त्यति सुखद अनुभूति हँुदैन।

यसबाहेक बच्चालाई बढ्ता ध्यान दिनुपर्ने कारणले यौन कार्यमा ध्यान पुर्‍याउन सकेको हुँदैन। बच्चा पाएपछि विशेष गरी आमाको माया बाँडिन्छ भन्ने भ्रम छ। यस्तोमा असमझदार श्रीमान्ले आपूmलाई बेवास्ता गरेको ठान्न सक्छन्। यस्तो परिस्थितिमा पार्टनरबीच यौन सम्बन्धमा नकारात्मक असर पर्न सक्छ। त्यसो त प्रसवपछि महिनावारी सुरु नभएसम्म गर्भ रहने सम्भावना निकै कम छ तर पनि यथेष्ट जानकारीको अभावमा गर्भ रहला कि भन्ने डरले निकै समयपछिसम्म पनि यौन सम्बन्ध राख्न डराइरहेको हुन्छ।

डेलिभरीपछि कहिलेदेखि यौन सम्पर्क पुनः सुचारु गर्न सकिन्छ भन्ने विषयमा कुनै एकरूपता नभए पनि माथि उल्लिखित समस्या विद्यमान छैन र दम्पतीलाई यौन चाहना छ भने यौन सम्बन्ध सुरु गर्दा हुन्छ। तर, कतिपयले मोटामोटी बच्चा पाएको छ हप्तापछि यौन सम्पर्क सुरु गर्न सकिने ठानेका छन्। कतिपयले भने अझ बढी समय पर्खनु उचित ठान्छन्।

मुख्य कुरा मूलतः महिला पार्टनर यौन सम्पर्कका लागि शारीरिक तथा मानसिक दुवै हिसाबले तयार हुनुपर्छ। श्रीमान्को करकापले मात्र राखेको यौन कार्य सुखद हुँदैन। श्रीमान्ले पनि आफ्नो श्रीमतीको भावनाको कदर गर्नुका साथै बच्चाको हेरचाहमा सहयोग पुर्‍याएको खण्डमा यौन सम्बन्धमा अप्रत्यक्ष फाइदा पुग्छ।

डेलिभरीपछि योनि सुक्खाको समस्या भएमा योनिमार्ग चिप्लो बनाउने जेली लगाउन सकिन्छ। योनिमार्गको खुकुलोपन घटाउन केगेल कसरत सहायकसिद्ध हुन्छ। थकित बेलामा लिंग–योनि सम्पर्क नै गर्न नसकिए पनि यौन आनन्दका वैकल्पिक उपाय अपनाई यौन आनन्द लिन सकिन्छ। तर, विशेषतः पुरुष पार्टनरबाट संयमको खाँचो छ। पीडादायी यौन सम्पर्क कम गर्न पीडानाशक औषधि, उपयुक्त आसनले सहजता मिल्छ। आपसी हस्तमैथुन उपयुक्त विकल्प हुन सक्छ। महिलामा आफ्नो शरीरप्रति नकारात्मक भाव वा अन्य कुनै गम्भीर खालको मानसिक चिन्ता वा डिप्रेसन छ भने श्रीमान् र परिवारजनको ढाडस, सरसहयोग एवं मनोचिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।

महिनावारी राम्ररी सुरु नभएसम्म गर्भ रहने सम्भावना हुँदैन, तर पनि परिवार नियोजनको बानी बसाल्न, जन्मान्तर राख्न पर्याप्त स्तनपानका साथै प्रोजेस्टेरोनयुक्त चक्की वा सुई वा नरप्लान्टलगायत गर्भ निरोधका साधन अपनाउन सकिन्छ। कन्डम पनि राम्रो विकल्प हुन सक्छ। असामान्य योनिस्राव वा रक्तस्राव भइरहे चिकित्सकसँग सल्लाह लिनुपर्छ।

सोमवार, पुस २७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्