वाग्मती सफाइ महाअभियानको ४००औं हप्तामा सात स्थानमा जनचेतना अभियानसहित जागरणमूलक पोस्टर टाँस

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४००औं हप्ता प्रवेश गरेकामा अवसरमा आज उपत्यकाका सात स्थानमा जनचेतनामूलक सफाइ अभियानसहित जागरणमूलक पोस्टर टाँस गरिएको छ ।

‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नाराका साथ आज ४००औँ हप्ताको कार्यक्रम गरिएको हो । विशेष कार्यक्रमअघि राजधानीका साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन गरी सात स्थानमा जनचेतनामूलक अभियानसहित सफाइसम्बन्धी पर्चा वितरण र पम्प्लेट टाँसिएको छ ।

यसका लागि सातै स्थानमा सफाइ अभियानकर्मीको नेतृत्वमा समूह परिचालन गरिएको थियो । जसअनुसार अभियानकर्मी क्रमश ः नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिई जनचेतनामूलक कार्यक्रम गरिएको हो । ती स्थानमा चल्ने सार्वजनिक र निजी यातायातमा चेतनामूलक पम्प्लेट टाँस गरिएको छ ।

विशेष कार्यक्रम गरिएको मीनभवन पुल क्षेत्रको नदी किनारमाथिको सडकमा ४०० सवारी साधनमा चेतनामूलक पोष्टर टाँस गरिएको कार्यक्रम संयोजक माला खरेलले राससलाई जानकारी दिइन् । त्यहाँ आयोजित विशेष कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, नायिका एवं वाग्मती सद्भावना दूत मनीषा कोइराला, गायिका आनी छोइ डोल्मा, अभियानकर्मी लीलामणि पौडेल लगायतलेत वाग्मती सफा नभएसम्म महाअभियान जारी रहने प्रतिबद्धता जनाए ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव पौडेलको अग्रसरतामा शुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि ४०० हप्ता प्रवेश गरेको हो । शुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् । यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्व जस्ता दिन पनि महाअभियान रोकिएको छैन ।

सफाइबाट हालसम्म २० हजार मेट्रिक टन फोहर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । फोहर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत स्थानमा सफाइ अभियान चलेको छ ।

यसैगरी उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान शुरु भएपछि यी सबै स्थानमा सफाइ अभियान शुरु गर्ने प्रेरणा मिलेको हो ।

अभियानले फोहरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहरबाट बायो कम्पोष्ट मल र बायोग्याँस उत्पादन गर्न सहजीकरण गरेको छ । कुहिने फोहरलाई मल बनाएर कौशी खेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ । हालसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोष्ट विन कौशी खेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताए । उपत्यका बाहिर पनि फोहरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन शुरु भएको छ ।

आइतवार, पुस २६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्