रानीपोखरीको उद्घाटन कार्त्तिक ५ मा

काठमाडौं । पुनः निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कार्त्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न छ । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो । सुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् । सुरुमा पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेपालसम्वत् ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७/इसं १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्न राष्ट्र प्रमुखलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । भानु मावि चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना गरिएको थियो । भूकम्पले पूर्णरुपमा क्षति र्‍याएको उक्त हाइस्कूलको पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो ।

सोमवार, कार्तिक ३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्