ओली-प्रचण्डबीच तीन घन्टा छलफल : के के भयो संवादमा ?

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार झण्डै तीन घन्टा छलफल भएको छ । बिहान ९:४५ मा सुरु भएको भेटवार्ता दिउँसो १ बजे सकिएको थियो ।

आजको भेटवार्तामा दुबैतर्फबाट एक-एकजना नेता सहभागी थिए । दुई इलामेलीलाई सांक्षी राखेर गरिएको भेटवार्तामा विवादका सबै विषयमा छलफल भएको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङ ओली-प्रचण्डको संवादमा सहभागी थिए । दुवैजना इलामबाट प्रतिनिधिसभामा निर्वाचित नेता हुन् ।

भेटमा सहभागी एक नेताका अनुसार नेकपामा देखिएको विवाद अन्त्यका लागि विभिन्न विकल्पमा छलफल भएको छ । छलफलको सुरुवात भए पनि सकारात्मक भने हुन सकेन । ती नेताका अनुसार दुबैपक्षबाट आ-आफ्ना तर्क राखिएको थियो ।

के भयो त आज ?

सुरुवातमा अनौपचारिक विषयबस्तुबाट छलफल थालिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले मिल्नुको विकल्प नभएको र निकासका लागि सबै पक्ष लचक भएर मात्रै निकासको विन्दुमा पुग्न सकिने धारणा राखेका थिए । उनले भने, ‘सकरात्मक हिसाबले छलफल गरौँ । समग्र पार्टी कार्यकर्ता र आमजनतामा नेकपाको विवादले नकारात्मक असर गर्न थालिसक्यो । हामी सबैलाई गाली गर्न थालेका छन् । हामी गम्भीर भएर जाऔँ ।’

प्रचण्डको कुरा सुनिसकेपछि ओलीले पनि सुरुवातमा सकारात्मक पहल गरौँ भन्ने धारणा राखेका थिए । उनले भने, ‘सकरात्मक पहल गरौँ । तर, कसरी ? मिल्ने विन्दुमा छलफल गरौँ । बहुमत देखाउने काम कसैले नगरौँ । मिल्नकै लागि मैले बैठक स्थगित गरेको थिएँ । तपाईँले बैठक रोक्न किन नसक्नु भएको ?’

प्रचण्डले स्थायी कमिटी बैठक र विधान अनुसार माग भएको केन्द्रीय कमिटी बैठक बोलाएर निकास निकाल्ने प्रस्ताव राखे । उनले भने, ‘पार्टी एकताका लागि म लचक हुँदै आएको छु । मैले छाड्नुपर्ने ठाउँ पनि छैन । तर, अब आमजनता र कार्यकर्ताको भावना अनुसार निकास निकाल्नका लागि स्थायी कमिटी र विधान अनुसार माग भएको केन्द्रीय कमिटी बैठक बोलाम । त्यहाँबाट निकास खोजौँ । त्यसबीचमा हामीहरु पनि छलफल गरौँ । विधि र प्रक्रियाको कुरा तपाईँले पनि मान्नुपर्छ । विधि र प्रक्रिया मान्दा सानो भइँदैन ।’

ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न नसक्ने बताए । उनले भने, ‘अहिले स्थायी कमिटी आवश्यक छैन । केन्द्रीय कमिटी बैठक पनि उचालेर बोलाइएको हो । त्यसैले त्यो बैठक पनि बस्न म सक्दिँन । बरु सचिवालय बैठकसम्म बस्न सकिएला । पार्टी एकता गर्ने तपाईँ र म भएपछि अरु किन चाहियो ? अब स्थायी कमिटी बैठक सकिएको घोषणा गरौँ । केन्द्रीय कमिटी पनि बस्दैन ।’

प्रचण्डले फेरि पार्टी एकता गर्दाको पृष्ठभूमिसहित ओलीलाई सम्झाउन खोजे । उनले भने, ‘पार्टी एकता गर्दा र त्यसपछिका सबै कुरा मैले त्यागेर यहाँसम्म आएको हो । तपाईँलाई पार्टी फुटाउन दिँइदैन । पार्टी फुटाउने तपाईँको चाहना पूरा हुँदैन । निकासका लागि स्वेच्छाले तपाईँले के छाड्ने, के राख्ने भन्ने निर्णय गर्नुस् । पार्टीलाई एकतावद्ध बनाएर जानुको विकल्प हामीसँग छैन ।’

प्रचण्डको कुरा सुनेका ओलीले आफूले कुनै पनि कुरा त्याग गर्न तयार नभएको बताए । उनले भने, ‘अर्को महाधिवेशनसम्म अध्यक्ष छाड्ने कुरा हुँदैन । यो कार्यकालका लागि प्रधानमन्त्री पनि छाड्ने कुरा हुँदैन । एकदुईजना साथीहरुका मन्त्री बनाउनु पर्नेछ भने गरौँ । होइन भने, अब आ-आफ्नो बाटो लागौँ । एकता-एकताको कुरा नगरौँ । तपाईँहरु आफ्नो अनुकूल बढ्नुस, म पनि अगाडि नै बढ्छु ।’

अध्यक्षद्वय ओली-प्रचण्डको कुरा सुनेका वरिष्ठ नेता खनालले अडानबाट पछि हटेर निकास खोज्नुपर्नेमा जोड दिए । स्थायी कमिटी सदस्य नेम्बाङले पार्टी विधान र आवश्यकताका आधारमा छलफलबाट निकास खोज्नुपर्ने बताएका थिए । खनाल र नेम्बाङले निरन्तर छलफल गरेर निकास निकाल्नुपर्नेमा जोड दिएको स्रोतको दावी छ ।

पछिल्लोपटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

सोमवार, साउन १९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्