जय मोडर्न लभ….

नवराज कुंवर images (1)
विहान–विहानै बासी भात भुटेर खाएको दिन के को दिन राम्रो हुन्थ्यो ? अंग्रेजीमा भनाई छ–‘मर्निङ शोज द डे’ । विहानै बासी भात हानेपछि दिन नै संविधानसभाजस्तो बेअर्थी भएछ ।
गाउँतिर त बासी भात खाएको थाहा मात्रै पाए भने नाम राखिहाल्छन् बासी भाते । राँगा बेच्नेलाई थरको अगाडी राँगे हान्दिन्छन् । झोला बोकिरहनेलाई थरको अगाडी झोले हान्दिन्छन् । एकजना गोरु खरिदविक्रि गर्ने सुवेदी दाईलाई गोरु सुवेदी भनेर बोलाएको सुनेको थिएँ । त्यस्तै हो भाटाको काम गर्नेलाई भाटे, माटाको काम गर्नेलाई माटे । गाउँलेले नाम राख्ने कुरामाचाहिँ पिएचडिनै हानेका हुन कि झैं लाग्छ ।
इटहरीमा काम थियो । कस्तो काम ? काम के त । उमेर नै यस्तै हो । सानो डेटिङ । जानेक्रममा मूर्तिखोला पारी एकजना त्यस्तै ६० वर्ष जतिका गफी बृद्ध मानिसले मोटर साइकल रोक्न ट्राफिकले जस्तै हात ते¥स्याए । रोकुं कि नरोकुं हुंदै अलि पर पुगेर रोकें ।
‘भाई कहां हिंडेको ?’ ठाडै प्रश्नले हाने । मैले राजविराज हिंडेको भने ।
मेरो पर्मिशनको कुनै ख्यालनै नगरि ह्वात्त गएर मोटरसाइकलको पछाडी बसेर भने– ‘ल म पनि त्यहां फत्तेपुरसम्म जानु छ हिंड ।’ म ट्वां परें । हैन कस्तो खालको मान्छे यार ? मेरै मोटरसाइकलमा चढ्नु छ । मलाई नै ड्राइभरजस्तो व्यबहार ? सहें ।
हुन त म पनि गाउँकै मान्छे हुँ । गाउँमै जन्मेको । तर यी गाउँका मान्छे सिक्ने कुरामा ख्यालै गर्दैनन् । बोलाईमा यतिपनि सभ्यताको हेक्का राख्दैनन् । फोन उठाए भने ‘हलो को बोलेको हं ? किन फोन गरेको ?’ भनेर ठाडै प्रश्न गर्छन् ।
फोन गरे भने– ‘मलाई नचिनेको ? लौ अझै नचिनेको ? अन्दाज लाउनु त ?’
एक पटक हाम्रै उदयपुर क्षेत्र नम्बर एकबाट निर्वाचित सभासद डा.नारायण खड्काको घरमा हामी केही युवा र डा. खड्का बसेर चिया पिउंदै थियौं । गाउँकै विकासबारे कुरा चल्दै थियो । डाक्टरसापले हामीलाइै निकै व्यस्त समयका बाबजुत पनि समय निकालेर घरमा बोलाएका थिए । विकासका सवालमा डाक्टरसाप निकै हिमायति मानिन्छन् । हामीसंग बसेर कुरा गर्नेक्रममा उनलाई निकै फोन आइरहेको थियो । गाउँबाट एक जना काठमाडौं आएका रहेछन् । सायद ठोक्शिलाबाट । डाक्टरसापलाई फोन आयो । उनले फोन उठाए । उनले सक्भर छिट्टै फोनकर्ताबाट कुराको अपेक्षा गरेका थिए । तर उताबाट आवाज आयो ? डाक्टरसाव कहां हो ?
डा. खड्काले भने– ‘म घरमा हो भन्नुस को बोल्नुभो ?’
फेरी ती फोनकर्ताले भने– ‘हैन मलाई चिन्नुभएन भन्या ?’
त्यति व्यस्त समयका बाबजुत उठाएको फोनबाट त्यस्तो अपेक्षा उनले सायदै गरेका थिएनन् ।
‘को हो भन्नुन त हौ ?’ डाक्टरले अलि कडा भएर प्रश्न गरे ।
ती फोन गर्नेले डाक्टर खड्काको प्रश्नको ख्यालै आफ्नै कुरा लादे– ‘म यहीं गोल्फुटार आएको थिएं अनि छ्यास्स छिरौं कि त्यहां पनि भनेको ।’ डा. खड्काले फोन नै राखिदिए ।
मपटि फर्किएर भने– ‘हैन नवराज यो रेडियोमा पनि फोन कन्भरसेसन र फोन ग्रिटिङबारे एउटा चेतनामूलक कार्यक्रम राख्नुप¥यो । विदेशतिर फोन आयो या गरे भने । ‘हेलो म फलानो बोल्दैछु ।’ उठाए भने– हेलो भन्नुस म फलानो बोलिरहेको छु । ग्रिटिङ यस्तो हुन्छ । हामी कहां के हो यस्तो ?’ उनले प्रश्न उठाएका थिए ।
हाम्रोमा त यस्तै हो । यहांको त के कुरा गर्नु । फेरि भन्नेले त विदेशसंग दांज्छस् भन्न थाल्लान् ।
मेरो मोटरसाइकलको पछाडी बसिसकेका ती व्यक्तिलाई मैले कहिं कतै देखेको भएपनि नामले चिन्न सकिन । उनले मलाई चिन्न चाहेनन् । बुढा ढसमस्स पछाडी बसेपछि मलाई पनि बाइक चलाउन अल्छि लागिरहेको थियो । के गर्नु उता जानु थियो । नत्र त बुढोलाई देउरालीमा लगेर छाडेर आउंथे झै लागिरहेको थियो । त्यही पनि सार्हो पर्ने गरि कम्मरमा समातेर बसेका थिए । मोटरसाइकलमा यी बुढा र महिलाहरुलाई बोकेर हिंड्दा एकदमै ख्याल गर्नुपर्ने हुन्छ । कम डराउंदैनन् ? डराउने मान्छे पछाडी बसेपछि न आफूले चाहेजस्तो गरी मोटरसाइकल चलाउन पाइन्छ, न समयमा गन्तव्यमा पुगिन्छ, न ढुक्कले यात्रा गर्न नै पाइन्छ । कहां झर्ने हुन् कि भन्ने त्रासमा हिंडुनुपर्छ ।
आफैं आफ्नो नाम बताए । भोजपुरबाट आएका रे । अलि अलि अप्ठेरो मान्दै भने– ‘चिन्नेले ढाडे बस्नेत भनेर पनि चिन्छन् । तर नाम चाहि गोविन्द बहादुर बस्नेत हो ।’
सेतो माटो लिन जांदा माटोको ढिस्को खसेर ढाड सड्कीएछ भोजपुरमै हुंदा । एक वर्ष ढाड बाङगो पारेर हिंडेछन् । आज ढाड निको भएर दुई थाल भात हानेर लखर लखर चार गाउं चार्ने भैसके नाम अझै ढाडे नै छ ।
विशेष गरि पहाडी भेगतिर वर्तमान गरिसकेको मान्छेको पछि न्वारान गर्ने चलन हुदो रहेछ । आफ्नो बारेमा धेरै कुरा जवर्जस्ती सुनाए । अनि मतिर प्रशंग मोडेर भने–‘यत्रो जवान छौ । भाईको यसो पिरेम सिरेम परेको होला नि ? मैले पनि जवानीमा पिरेम गरें थुप्रैसंग तर विहे भने तीन वटीसंग मात्र भयो ।’
मैले हत्तपत्त लुकिङग्लासलाई ढाडे बुढाको अनुहार देखिने गरि सोझ्याएं । सानो आवाजले बोल्ने हैन । शंका गरें, हैन ठर्रा पनि हान्या छ कि ? अंहं हानेको थिएन नत्र गन्ध आउने थियो नि । त्यतिबेला मैले कुनै प्रतिक्रिया जनाइन । फेरी एकोहोरो नै बोले । खाली आफ्नैमात्र सुनाइरहे । निकै गफ हानिसकेपछि फेरी अर्को प्रश्न ते¥स्याए – ‘भाईको घरचाहिं कहाँ ? के थरि हो ? कति जनाको परिवार’
यी बुढापाकाहरुले पहिले नै थर सोध्छन् । मलाई अचम्म लाग्छ । थर नै कि सोध्या होला ? नाम सोध्दैनन् । थर, गोत्र, पहाड घर । उत्तर दिन दिक्क लाग्छ ।
कुनै घरमा गइयो पहिलोचोटि भने । त्यस घरमा कोही बुढापाका छन् भने आउने प्रश्नहरु सबैलाई थाहै होला । ‘के थरि नानी ? बुवाहरुको पहाड कहां ? के गोत्र ?, बुवा के काम गर्नुहुन्छ ?’
म प्राय आउन सक्ने उत्तरहरुबारे पहिले नै ‘माइन्ड मेकअप’ गरेर हिंड्ने गर्छु । यो बानीले समय बचत हुन्छ भने अनावश्यक प्रश्नबाट छिट्टै छुट्कारा पनि मिल्छ ।
नयाँ घरमा गएका बेला नमस्ते हान्दै सबै कुरा ठोकिदिने । ‘नमस्ते हजुर म कम्मरको छोरा । गोत्र वत्स्य । पहाड घर चाहिं भोजपुर हो । मलाई पहाड घर भोजपुर हो भन्ने थाहा छ म पुगेको छैन । घरमा चार जना छौं । एउटी बहिनी, म अनि मम्मि ड्याडि । ड्याडि खेती किसान हो । म त रामपुर मै जन्मेको रे । घरतिर मम्मि, ड्याडि सबैलाई सन्चै छ । यता यस्तो काम थियो र आएको ।’
काठमाडौबाट केही महिना बसेर घर जांँदा प्राय एकै खालका प्रश्नहरु आउँछन् । ‘ओ नवराज के छ ? कहिले आएको ? अब कहिले जाने ? अलिक दिन बस्ने हो ?’ यही हो प्रायले सोध्ने प्रश्न ।
म ‘ओ नवराज के छ ?’ भन्ने प्रश्न आउनेवित्तिकै आउन सक्ने थप प्रश्नहरुको पनि जवाफ दिन्छु । भनिदिन्छु– ‘ठिकै छ । हिँजो आएको । अब २÷४ दिन बसेर जान्छु । उत्ता पनि त्यस्तै छ सबै पुरानो ।’ त्यसपछि सोधकर्ता ट्वाँ पर्छन् । अब के सोध्ने ? सोध्ने प्रश्नहरुको उत्तर त प्रश्न नसोधि आइसके ।
मैले ती बुढालाई पनि त्यस्तै गरँे । तर बुढाले मुख बन्द गरेनन् । सोधि रहे । मैले विचैमा उनको कुरा काटेर प्रश्नको झट्टारोले हानें–‘तीनवटी त विहेमात्रै गर्नुभएछ अंकल, माया चाहिँ कतिजनासँग गर्नुभयो ?’
‘हँ अहिलेजस्तो चुम्मासुम्माको जमाना थियो र उतिबेला ? छुयो कि कूह्यो । रोदि नाच्दा एउटीसंग आंखा जुधाइयो । मसक्क मस्किई । उतिबेला मया सया लगाएर धेरै दिन टिक्न गाह्रो थियो । त्यसलाई आंखा मारें । २ महिनापछि विहे गरें । पहाडमा गरिखाना धौधौ परेर बुढि उत्तै छाडेर तराई झरियो । तराईमा पनि एउटी भट्टराईकि छोरीले मया लाउने गरि हेरि । म पनि जवानीमा कमको थिएं र ? तरुनी त एकोहोरो हेर्थे । तर त्यतिबेला अहिलेको जस्तो खुला ठाउँबाट ठाडै हैन । लुकेर हेर्थे । बाहूनकी छोरी भएकाले म क्षेत्रीको बचेरोलाई त्यसलाई मागेर दिने कुरा थिएन, त्यसैले भगाएं । तराईतिरै राखेर फेरी पहाड गएँ । पहाडमा एउटी पुडासैनीकी छोरीसँग पहिलेदेखि नै पिरेम थियो । तर भेटघाट धेरै भाको थिएन । मैले त्यसलाई पनि विहे गरें ।’ अरु पनि ५÷७ वटीसंग पिरेम गरियो । के गर्नु सबैलाई विहे गरेर साध्य नहुँदो रहेछ ।
सास नफेरि यत्रा कुरा भनेर बुढा गलल हांसे । मैले पनि हांसो मिलाएं । अनि फेरि सोधें– ‘अहिले सबै साथमै छन् त ?’
बुढा अलिक गम्भिर मुद्रामा उत्रिएर भने– ‘छन् तर सम्झनामा । सबैले छाडेर गए । आज त दुइटि छोरी छन् । तिनैले पालेका छन् ।
‘अनि छोरा भएनन् र ?’ लुकिङ ग्लासबाट उनको अनुहारको भाव नियाल्दै मैले सोधें । गंभिर मुद्रामा उनले दुख पोखे– ‘छोरा भएर के भो ? त्यहि रोधि घरमा पटिएकीकामात्र छोरा भएनन् । पुडासैनिकी छोरीले ४ वटा छोरा जन्माई । भट्टराईकी छोरीले ३ वटा जन्माई । अहिले ठूला भए । बढे, पढे र विदेश गए । मैले तीनिहरुलाई गरेको मेहनतको तिनेरलाई के मतलब र ? मेरो त वास्ता गर्दैनन् । कहां छ बाउ भनेर खोजी निन्दा पनि गर्दैनन् । मैले तीनवटी विहे गरेपनि उनीहरुमाथी खान दिने र लाउन दिने कुरामा कहिले अन्याय गरेको थिइंन’
यसो विचार गरें । मानिसहरु छोरीमात्र भए छोरा भएन भनेर गनगन गर्छन् । छोरा पाउन बल गरेर देशको जनसंख्यामात्र बढाउंछन् । आखिर छोराभन्दा छोरीले बढि माया गर्छन् आफ्ना आमाबुबालाई । छोरा निकै निस्ठूरी हुन्छन् । स्वास्नी ल्याएपछि जन्म र कर्म दिएको गून र पालन गर्नुपर्ने कर्तव्यलाई कूल्चिदिन्छन् । हाम्रै समाजमा प्रशस्त उदाहरण छन् ।
‘अनि भाईका पनि त होलान् नि । ह्यान्डसम पनि छौ । एक्लो छोरा रहेछौ । बाइक पनि छ । केटि त नहुने कुरै हुन्न ।’ उनले कुरा मोडे ।
‘मलाई यस्तो कुरामा विश्वास लाग्दैन । मजस्ता ह्यान्डसमको यहाँ कुनै कमि छैन । मोटरसाइकल हुँदामात्र पटिने केटि मलाई चाहिँदैन । मोटरसाईकल नहुनेहरुले पनि कति राम्रा–राम्रा केटि पट्याएका छन् ।’ मैले म त्यस्तो हैन भन्ने खालको जवाफ फार्काएं । बुढाले पत्यानन्– ‘होली एउटी न एउटी त?’
अलि–अलि लाज लाग्यो । त्यही पनि भनें, ‘एउटी केटिले माया गर्छु भन्छे । मलाई पनि मन पर्छ ।’
‘त्यसैलाई भेट्न हिंडेको होला हैन ?’ बुढाले जिस्काउंदै सोधे । मैले हैन भने । विचार गर्नु है फेरी फँसिएला । सेकेन्ड हेन्डमा परिएला ।’ बुढाले त्रास देखाए । अहिलेका केटिहरुको विश्वासै हुन्न । बरु केटाहरुको केटि कम हुन्छन् केटिले धेरै केटासाथी बनाउंछन् ।
मेरी धरानकी भान्जाकी छोरी राजविराजमा नर्स पढ्छे । अस्ति छोरी भेट्न थाहै नपाई गएका बेला कहां एउटा दमाई केटासंग अंगालो हालिहालि घुमेको देखेछन् बाउले । मैले त पहिले नै भनिदिएको हुँ, विहे गर्ने बेला भएकी छोरीलाई घरमा धेर नराख । अब देखे नि ।’ उनले सुझाएको कुरा गर्भका साथ खुलाए ।
मैले सोचें अहिले पनि के विग्रियो त उसले मन पराएकी केटा नै त्यही हो भने त्यही संग विहे गरिदिए के विग्रिन्छ र ? भन्नेले भन्लान् धेरै विग्रिन्छ । सायद दलित भनेर परिवारले त्यसलाई जटिल रुपमा लिएका थिए । जमाना कहाँँबाट कहाँ पुगिसक्यो । समाज अहिले पनि पुरातनवादी चिन्तनबाट टाढिन सकेको छैन । केटि उहीसँग खुशि हुन्छे । चोखो माया नै हो भने किन विहे नगर्दिने । अप्ठेरो लाग्छ भने हाम्रो आशिर्वाद छ । भाग भन्दे भैगो नि ।
मेरो सोचाई भंग गर्दै उनले थपे, ‘साधना पढ्न पनि तेज थिई !’
मैलै हत्तारिएर सोधें– ‘नाम के रे ?’
उनले फेरी ठूला आवाजमा भने, ‘साधना भण्डारी । नर्स पढ्दै थि ।’
मैले मोटरसाइकल रोकें । उनको गन्तव्य आइसकेको थियो फत्तेपुर ।
उनी ओर्लिएर भने, ‘चिया पिउने कि ?’ म पसिना पसिना भएको थिएं । भनें– ‘भैगो ।’ खै म मोटरसाइकलमा छु कि प्लेनमा छु छुट्याउन हम्मे–हम्मे परिरहेको थियो । आकाशमा दिउँसै ताराहरु देखिरहेको थिएँ । त्यो आकाश खस्दै छ कि जस्तो भईरहेको थियो । फेरि मोटरसाइकल अगाडी बढाउने जाँगर र साहस बाँकी थिएन ।
आँखाहरु झिम्कनै छाडे । ओठहरु स्तब्त । सोमबार त फत्तेपुर बजार लाग्छ । मानिसहरुको बाक्लो चहलपहल हुन्छ । त्यो भिंडमा पनि म एक्लो थिएं । सुनसान थियो मेरो वास्तविकता । दिमागले एउटै कुरामात्र सोचिरहेको थियो । दिमागको सोचाई डाइभर्ट गर्न म असफल थिएं । किन किन सारा सपनाको संसारमा आगो लागे जस्तो महशुस हुंदै थियो ।
मोबाइलको घण्टी बज्यो । भत्किएको कल्पना र डढेको सपनाबाट एक्कासी ब्यूँजिदा म थरङग भएं ।
मोबाइलमा म्यासेज आएको रहेछ । कतिखेर पठाएको मेसेज थियो । बल्ल नेटवर्कले भेटेकाले त्यहाँ पुगेपछि आएको थियो ।
यसो हेरेँ । ‘साधना बि’बाट आएको थियो । मेसेज ओपन गरेर हेरें । ‘हाई डियर हाउ आर यू ? कतिखेर आइपुग्ने राजविराज?आइएम वइटिङ यू । मिस यू अ लट एण्ड लभ यू । बाई

बुधबार, भदौ १८, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्