सत्ता समीकरण मिलाउन प्रचण्ड भेटवार्तामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७८, सोमबार ०५:२३

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउन आन्तरिक दौडधुपमा लागेका छन् ।

सरकार गठन भएको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डले राजनीतिक भेटवार्तालाई बढाएका छन् ।

उनले सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर वार्ता गरिरहेका छन् । यही क्रममा प्रचण्डले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।

नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको आजको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । दुई नेताबीच आज सत्ता सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यता एमालेको नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । नेपाल समूह भित्रैका केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१