फोरके टिभी ग्यालेक्सी : ‘सिधा कुरादेखि को बन्छ करोडपति’ प्रसारण हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७७, बुधबार ०५:४०

काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिले नेपालमै पहिलो फोरके टेलिभिजन ल्याएका छन् । सो कम्पनीले ग्यालेक्सी फोरके टेलिभिजन आगामी वैशाखबाट प्रसारण सुरुवात गर्ने गरी मंगलबार जानकारी दिएको छ ।

टेलिभिजन प्रसारणसम्वन्धी जानकारी दिन आयोजित कार्यक्रममा सो कम्पनीका अध्यक्ष जीबी राईले सही सूचना, समाचार र स्वस्थ मनोरञ्जन प्रस्तुत गर्न टेलिभिजनको सुरुवात गरिएको जानकारी दिए ।

टेलिभिजनका प्र्रवन्ध निर्देशक रवि लामिछानेले जनताका आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्न टेलिभिजन ल्याइएको जानकारी दिए ।

सबैभन्दा पृथक टेलिभिजन हुने दावी गर्दै कार्यक्रममा कम्पनीका उपाध्यक्ष छविराज बञ्जाडेले ग्यालेक्सी फोरके साझा प्लेटफर्म बन्ने दावी गरे ।

ग्यालेक्सीमा आकर्षक कार्यक्रमको ओइरो

नेपाली टेलिभिजन इतिहासमा प्रविधिमा मात्र पहिलो नभएर ग्यालेक्सी फोरकेले आमदर्शकलाई नयाँ स्वाद चखाउने भएको छ ।

सबै खालका दर्शकलाई ध्यानमा राखेर समाचार र विचार मात्र नभई भरपूर मनोरञ्जन प्रदान गर्ने कार्यक्रमहरु प्रसारण गर्ने घोषणा गरेको छ ।

रवि लामिछानेका साथमा चर्चित वक्ता रमेश प्रसाई, नेपालका चर्चित वैज्ञानिक महावीर पुन, दिपकराज गिरीका साथै राजेश हमाल पनि ग्यालेक्सी फोरकेमा कार्यक्रमका साथ प्रसारणमा आउनेछन् ।

ग्यालेक्सी फोरकेमा चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा…’ का साथमा रवि लामिछाने स्वयम देखिने छन् । यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग प्रसारण गरेर चर्चित बनेका रविको कार्यक्रम सर्वाधिक रुचाइएका कार्यक्रम हुन् ।

त्यस्तै, रविकै नेतृत्वमा प्रसारणको तयारीमा रहेको कार्यक्रम द लिडर ग्यालेक्सी फोरकेमा देख्न सकिने छ । उनले तत्कालका लागि ‘कामका कुरा’ लिएर दर्शकसामु आउने भएका छन् ।

राजेश हमालका साथमा को बन्छ करोडपति यसै टेलिभिजनमा प्रसारण हुनेछन् । चर्चित हाँस्य अभिनेता दीपकराज गिरी ग्यालेक्सी फोरकेमा क्राइम पेट्रोल कार्यक्रमका साथ उपस्थित हुनेछन् ।

वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य, चर्चित गायिका इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा कार्यक्रम सारेगमपका साथ टेलिभिजनको पर्दामा आउनेछन् ।

चर्चित वक्ता रमेश प्रसाई लाल मोहर नामक कार्यक्रमका साथ देखिने छन् भने वैज्ञानिक महावीर पुन आविष्कार नामक कार्यक्रममा हेर्न पाइने छ ।

चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता विजयकुमार धेरै लामो समयदेखि टेलिभिजन पर्दामा छैनन । अब भने ग्यालेक्सी फोरकेमा कार्यक्रम ‘सम्बन्ध’का साथमा देखिने छन् ।

टेलिभजनमा रामायण पनि हेर्न सकिने छ । साथै कला, साहित्यसम्वन्धी कार्यक्रम फरइभर नवराज पराजुलीका साथमा हेर्न पाइने छ ।

नेपालमा टेलिभिजन स्थापित गर्ने पहिलो व्यक्तित्व निर शाहले जनताको भाषा, जनताका लागि, जनताको पीडामा साथ र जनताको खुशीमा रमाउन सकिने टेलिभिजन ग्यालेक्सी फोरके बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चर्चिच हाँस्यअभिनेताहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभकामना दिएका थिए ।

कार्यक्रममा सञ्चारकर्मी, उद्योगी, व्यवसायी, कलाकारहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१