बालुवाटार जग्गा छानविन रोक्न प्रधानमन्त्री ओलीलाई दवाव दिन देउवासँग माधव नेपालको गुहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७७, आईतवार ०५:१७

काठमाडौं। नेकपाको एक समुहका अध्यक्ष रहनु भएका माधवकुमार नेपालले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गएको छानविन प्रकरण रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैतिरबाट दवाव दिन लगाएको खुलेको छ । पार्टीभित्रैबाट आफुले दिएको दवाव प्रधानमन्त्री ओलीले नटेरेपछि उहाँले तत्कालिन विपक्षी दलका नेता शेरबहादुर देउवालाई फोन गरेर छानविन रोक्न लगाउनु भएको रहस्य खुलेको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा लैजान प्रधानमन्त्रीको हैसियतले माधवकुमार नेपालले निर्णय गराउनु भएको थियो । सोही मन्त्रिपरिषद्मा रहेका तत्कालिन मन्त्री एंव नेकपाका नेता भिम रावलले पनि सो निर्णय आफ्नो मन्त्रिपरिषद्बाट नभएको सार्वजनिक अभिव्यक्ति पटक पटक दिदै आउनु भएको छ । उहाले आफुले गलत गरेको र अब नछाड्ने भए भन्ने थाहा पाएर जसरी पनि यो छानविन प्रकरण रोक्न प्रधानमन्त्रीलाई दवाव दिनुपर्यो भनेर फोन गर्नुभएको कांग्रेसका एक नेताले जनताटाइम्सलाई बताए ।

सो घटना अहिले कसरी सार्वजनिक भयो त ? बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका पूर्वी जिल्लाका नेताहरुसँग सामुहिक छलफल थियो । प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाले कसलाई सहयोग गर्ने वा कस्तो रणनीति बनाउने भनेर छलफल गर्न नेताहरु उपस्थित रहेका थिए ।

सो छलफलमा प्रदेश–१ को सुनसरी गृह जिल्ला भएका र बालुवाटार जग्गा प्रकरणमा अदालतमा मुद्दा चलिरहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार सहभागी हुनु भएको थियो । उहाले नै सबै नेताका अगाडी माधव नेपालले सभापति देउवालाई फोन गरेको र त्यसका विषयमा के कुराकानी भयो भनेर जिज्ञासा राख्नु भएको थियो ।

‘तपाईलाई माधवजीले फोन गरेर बालुवाटार प्रकरणमा आफूलाई मुद्धा हाल्नसक्ने बताउनुभएको रहेछ । तपाईले प्रधानमन्त्रीसंग कुरा गर्छु भन्नुभयो रे । के कुरा गर्नुभयो ?’, गच्छदारले भेलामा सो प्रश्न सभापति देउवालाई सोधेको एक नेताले बताए । गच्छदारको गुनासोपछि सभापति देउवाले आफूले मुद्धा लाग्न नदिन धेरै प्रयास गरेको बताउनु भएको थियो । ‘तपाईको लागि पनि मैले धेरै गरेको हो । माधवको बारेमा पनि प्रधानमन्त्रीसंग कुरा गर्छु भनेको हो ।’, देउवाले यस्तै उत्तर दिएर प्रश्न टार्नुभएको थियो । त्यसपछि छलफल प्रदेश सरकारका विषयमा केन्द्रीत बनेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०