आइतबारदेखि उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७७, आईतवार ०५:१६

काठमाडौँ । उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरैजसो विद्यालय माघ ४ गते(आइतबार) बाट खुल्ने तयारीमा जुटेका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले ‘फेस टू फेस’ रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए ।

भौतिक रुपमा पठनपाठन हुने भएपछि सबैको ध्यान स्वास्थ्य सुरक्षामै छ । आफूले सुरक्षा मापदण्ड अपनाएरै विद्यालय सञ्चालन गर्ने तयारी गरेको जी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बताए । ‘कोरोना भन्दा अगाडि जुन किसिमको व्यवस्थापन थियो अब त्यसले अब हुँदैन । त्यसकारणले अब सबै विद्यार्थी ल्याएर एकै पटक पठनपाठन गर्ने परिस्थिति छैन । अहिले त्यसो गरिरहँदा कक्षा कोठाको व्यवस्थापन र फर्निचरको व्यवस्थापनमा ध्यान दिएका छौं,’ उनले भने, ‘विद्यालय प्रवेशद्वारमै स्यानिटाइज गर्नेदेखि विद्यार्थीको ज्वरो नाप्ने व्यवस्थापन मिलाएका छौं । विद्यालयको बसमा पनि भौतिकदुरी कायम गर्छौं । त्यो सबै गर्न पूर्वाधार पुग्दैन भने २ सिफ्टमा पढाउने वा त्यो गर्न सकिँदैन भने आलोपालो पढाउने सोचेका छौं ।’ विद्यालयमा नर्सदेखि आइसोलेसन बेडको व्यवस्थापन गर्ने उनले बताए ।

 

उनका अनुसार कक्षामा भौतिक दुरी कायम गर्न आधा विद्यार्थी राखेर पढाउने तयारी छ । ‘पहिला ४० विद्यार्थी राखेर पढाउँथ्यौं भने अब आधा मात्र राख्न सक्छौं । दुरी कायम गर्न सबै विद्यार्थी बोलाएर राख्ने अवस्था छैन । काठमाडौंका विद्यालय कति त भाडामा छन् । त्यहाँ सबै विद्यार्थी एकै पटक आँगनमा उभिन पनि गाह्रो हुन्छ । त्यसैले विद्यार्थीको त्यो ठूलो भीड पनि हामीले कम गर्नुपर्छ,’ उनले भने ।

विद्यालयमा शिक्षक र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्नेछ । आफूहरुले विद्यार्थीलाई सकेसम्म पकेट स्यानिटाइज बोक्न हौसला दिने उनी बताउँछन् । ‘ज्वरो आएको छ भने विद्यार्थी विद्यालय आउनु भएन । यदि कक्षाको समयमा ज्वरो आयो भने आसोलेसनको व्यवस्थापन हुनुपर्‍यो । त्यहाँ नर्सको व्यवस्थापन गर्नु पर्‍यो । पहिलेको क्यान्टिन/क्याफ्टेरियाले स्वस्थकर खानेकुरा खुवाउने । विद्यालयमा तातो पानीको व्यवस्थापन गरेर पहिलाको भन्दा धेरै सजक हुनुपर्ने अवस्था देख्छु,’ पुरीले भने । भौतिक रुपमै विद्यालय खोल्ने भएपछि विद्यार्थी र अभिभावकमा खुशी छाएको उनको भनाई छ । भन्छन्,’९ महिना हामीले विद्यालय बन्द गरिसक्यौं । लामो समयपछि खुलेको विद्यालयमा आफ्ना छोराछोरी पठाउन डर र चिन्ता त छ नै । तर हामी सचेत छौं ।’

त्रिभुवन विश्वविद्यालयले मातहतका कलेज सञ्चालन गर्ने निर्णय गरेसँगै जनप्रेमीले कक्षा ११,१२ र स्‍नातक कक्षा सञ्चालनमा ल्याएको थियो । कलेज खोलेको डेढ महिनापछि अब आफूहरु विद्यालय खोल्ने अन्तिम तयारीमा रहेको आदर्श जनप्रेमीका साहायक प्रधानध्यापक कृष्ण आचार्यले बताए । ‘४ गतेबाट विद्यालय खोल्ने पत्राचार गरेको छ नगरपालिकाले । अब विद्यालयले गर्ने सुरक्षासँगसँगै अभिभावकले ध्यान दिनुपर्ने सुरक्षा मापदण्ड अपनाएरै विद्यालय खोल्छौं,’उनले भने,’हाम्रो कक्षा कोठाहरु ठूला छन् । त्यसैले त्यसमा भौतिक दुरी कायम गर्न सकिन्छ । एउटा बेन्चमा २ जना राखेर पढाउने हो । एउटा कक्षामा २६ जना विद्यार्थी राखेर पढाउने तयारी छ ।’

उनका अनुसार विद्यालयको ढोकामै विद्यार्थीको तापक्रम जाँच गरिन्छ । विद्यार्थीले भेटिने ठाउँमा स्यानिटाइजरको व्यवस्थापन गरेका छन् । ‘पानीहरु उनीहरुले लिएर आउँछन् । अब ब्रेक नगर्ने सोचेका छौं । खाजाहरु विद्यार्थी आफैँले व्यवस्थापन गर्नुपर्छ । क्यान्टिन अहिले नै खोल्दैन,’ उनले भने,’कक्षाहरु पूरै खुल्छ । हुन त वैशाखको ७ देखि सुरु गरेको हो अनलाइन कक्षा । तर त्यसमा पनि हामीले पूरै कक्षा लिन थालेका थियौं ।’ बिरामी विद्यार्थीलाई भने विद्यालयमा प्रवेश नगराउने उनी बताउँछन् ।

जेभियरका प्रधानाध्यापक लोकबहादुर भण्डारी पनि आइतबारबाटै सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्ने बताउँछन् । ‘हामी स्वास्थ्य मापदण्ड अपनाएर अगाडि बढ्दैछौं । त्यही हो मास्क अनिवार्य भइहाल्यो । सामाजिक दुरी कायम गरेरै कक्षाहरुको व्यवस्थापन गर्ने तयारी छ । तापक्रम जाँच नगरी विद्यार्थीलाई विद्यालय प्रवेश गराउने । स्वास्थ्यकै कुरामा हामी ध्यान दिन्छौं,’ उनले भने ।

हिसान(उच्च माध्यमिक विद्यालय संघ)का अध्यक्ष रमेश सिलवाल आफूले मंसिर २० बाटै ‘फेस टू फेस’रुपमै गोल्डेन गेटको कक्षा सञ्चालन सुरु गरेको बताउँछन् । ‘हामीले स्यानिटाइजर प्रयोग गर्ने, मास्क अनिवार्य गर्नेलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गरेको हो । हिसान अन्तर्गत कति विद्यालय खोलिसके । कतिले माघ १ बाट सुरु गरे । विद्यार्थीको भविष्य र अभिभावकको चिन्तालाई दुर गर्नुपर्छ भनेर मैले अलि अगाडिबाट नै सुरु गरेको हुँ । अहिलेसम्म एउटा दुर्घट्ना बढेको छैन,’ उनले भने । अहिले नियमित रुपले ८८ वटा कक्षा सञ्चालनमा आइरहेका उनले बताए । उपत्यकाभित्रका हिसान अन्तर्गतको विद्यालय ४० भन्दा बढी पहिल्यैदेखि संचालनमा रहेको सिलवालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०