डा. रिजालको कोभिडसम्बन्धि अंग्रेजी फिल्म दर्शकमाझ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७७, बुधबार ०५:३३

लन्डन । कोरोना महामारीले यतिखेर विश्व आक्रान्त छ । यो विपत्तिबाट बेलायत अछुतो रहेन । दोश्रो लहर झन् भयावह बनिरहेको दैनिक मृत्यु संख्या र संक्रमणदरले पुष्टि गरिरहेको छ । आर्थिक, सामाजिक, मानसिक लगायत क्षेत्रमा कोभिडको नकारात्मक प्रभाव तत्काल अन्त्यको सम्भावना देखिएको छैन् ।

यतिखेर आममानिस विक्षिप्त छन् । धेरैले आफ्ना प्रियजन र आफन्त गुमाए । यही परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको नेपाली समुदायमा लोकप्रिय एकजना दन्त व्यवसायी, समाजसेवी तथा म्यूजिक भिडियो निर्देशक एवं फिल्म निर्माता डा. कपिल रिजालले एउटा अंग्रेजी भाषाको छोटो चलचित्र दर्शकसामु ल्याएका छन् ।

‘गिल्ट कोभिड १९’ नामक करिब ८ मिनेट लामो फिल्म शुक्रबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो । फिल्मबारे जानकारी दिन डा. रिजाल शनिबार बेलायतस्थित नेपाली पत्रकारहरु सामु जुममा जोडिए ।

डा. रिजालले महामारीमा हरेक परिवारको भोगाइ प्रतिनिधित्व गर्ने गरि केही सन्देशसहित फिल्म बनाउने सोच आएको बताए । विदेशमा बस्ने दोश्रो पुस्ताका नेपालीले पनि हेरेर उनीहरुले आफूहरुको क्षमता र अनुभव बुझुन् भन्ने उद्देश्यसहित अंग्रेजीमा बनाइएको रिजालको प्रष्टिकरण छ । ‘हामीले यो फिल्म बजेट भन्दा पनि ह्दयबाट बनाएका हौं’, रिजालले भने, ‘५ घण्टामा खिचेका थियौं । सबै साथीहरुको स्वतस्फूर्त सहयोग रह्यो ।’

युवा पुस्ताले मात्र लापरवाही र भाइरस फैलाएको भन्ने कुरा सत्य नभएको सन्देश पनि फिल्ममा दिइएको रिजालले बताए । ‘आफ्नी आमा खाजा बनाउन ढोका बाहिर आउंदा र प्रेमिका फोनमा बोलिरहंदा पनि फिल्मका पात्र निकट आउन चाहंदैनन् । यसको अर्थ हामीले पीडामा एउटा व्यक्तिको भावना र भाइरसप्रति सचेतता दर्शाउन खोजेका हौं’, रिजालले प्रष्टयाए ।

उक्त फिल्म महामारीका बेला अग्रपंक्तिमा खटिएका किवर्करहरुप्रति समर्पित रहेको रिजालले बताए । उनले फिल्म सार्वजनिक गरेसंगै बेलायत र नेपालका किवर्करलाई पनि कम्तीमा १० हजार पाउण्ड सहयोग गर्ने लक्ष्य राखिएको पनि जनाए ।

केआर प्रोडक्सन लन्डनले प्रस्तुत गरेको अंग्रेजी भाषाको उक्त छोटो चलचित्रको सहायक निर्देशक टंक धमला (लियो ट्यांक) र कार्यकारी निर्माता सपनकुमार राई हुन् । फिल्ममा लुक हन्टरको एकल भूमिका छ । डिओपी जिम्मेवारी सुमन श्रेष्ठ र डिजिटल पार्टनर सन्तोष मण्डल छन् ।

पत्रकार सम्मेलनमा कलाकार हन्टरले अभिनयमा चुनौति भएपनि काम गर्दा उत्साहित भएको बताए । कार्यकारी निर्माता सपनकुमार राईले डा. रिजालबारे परिचय दिंदै फिल्म बनाउन असहज भएपनि बेलायती र नेपाली समुदायका लागि केही सन्देश प्रवाह गर्न फिल्म बनाइएको जनाए । ‘एउटा सफल व्यवसायी भएर पनि कपिलजीमा समाज र मातृभूमिका लागि सहयोग गर्ने अभिलाषा सधैं रहेको पाएको छु । यसपटक पनि उहांको मनकारी भावना उजागर भएको छ’, राईले भने ।

डा. रिजालले यसअघि पनि नेपाल तथा बेलायतमा कयौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । रिजालको यसअघि बेलायतमा बनेका ‘सुस्तरी’ र ‘मेरो मनमा’ म्यूजिक भिडियोले राम्रो चर्चा बटुलेका थिए ।

तस्बिर शिव भण्डारी

रिजालको ‘कर्मा’ नामक छोटो फिल्म कोभिड १९ का कारण रोकिएको छ । उनी छिट्टै फिचर फिल्म निर्देशन गर्ने तयारीमा समेत छन् । उनको करिब २ घण्टा लामो सस्पेन्स र थ्रिलर फिल्म किलर टु कोभिडपछि छायांकनमा जानेछ ।

डा. रिजालको समेत लगानी रहेको ‘ड्रिम्स’ सफल चलचित्र मानिन्छ । डा. रिजाल बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा 
संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को अध्यक्ष हुन् । उनी बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष भइसकेका छन् ।

नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका सुपुत्र डा. कपिल रिजालले भूकम्प लगत्तै करिब तीन दर्जन चिकित्सक र नर्स लिएर नेपालमा स्वास्थ्य शिविर र राहत, उद्दार तथा पुनर्निर्माणमा उल्लेख्य काम गरेका थिए ।

फिल्म ‘गिल्ट कोभिड १९’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०