एसिया रग्बीको अडिट शाखा प्रमुखमा घिसिङ नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७७, शुक्रबार ०५:०२

काठमाडौं । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ ‘टलक’ एसिया रग्बीको अडिट शाखा प्रमुखमा नियुक्त भएका छन् । उनले रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’ प्रमुखको जिम्मेवारी पाएका हुन् ।

एसिया रग्बीका अध्यक्ष क्वाइस अल धलाईको अध्यक्षमा भएको कार्यसमितिको भर्चुअल बैठकले घिसिङलाई जनवरी २०२१ देखि डिसेम्बर २०२४ सम्मको लागि उक्त कमिटी प्रमुखको जिम्मेवारी दिएको हो ।

यो जिम्मेवारीसँगै घिसिङ एसिया रग्बीको कार्यसमितिमा पुग्ने र कमिटी प्रमुख हुने पहिलो नेपाली बनेका छन् । घिसिङ सन् २०१२ देखि नेपाल रग्बी संघको अध्यक्षमा निरन्तर छन् । घिसिङकै पहलमा नेपालले नोभेम्बर २०१५ मा एसिया रग्बीको एसोसिएट सदस्य पाएको थियो । नेपाल रग्बी संघ २०१८ मा एसिया रग्बीको पूर्ण सदस्य भएको थियो । नेपालले निकै संघर्ष गर्दै अक्टोबर २०२० मा वर्ल्ड रग्बीको एसोसिएसट सदस्यता लिइसकेको छ ।

रग्बी संघको नेपालमा २०५२ सालमा स्थापना भएपनि संघ निष्क्रिय रहेको थियो । घिसिङकै कार्यकालमा नेपालमा रग्बीको उमेर समूह, स्कुल स्तर र राष्ट्रिय प्रतियोगिता (महिला र पुरुष) सुरु भएको छ । महिला र पुरुष दुवैको नेपाली राष्ट्रिय टिमले पाँच वर्षयता एसिया रग्बी सेभेन्स ट्रफि पनि नियमित खेलिरहेको छ ।

नेपाली टिमले रियो ओलम्पिक २०१६ को छनोट पनि खेलिसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका युवा नेता समेत रहेका घिसिङले एसिया रग्बीको नौ वटा कमिटिमध्ये एउटा कमिटीको प्रमुख जिम्मेवारी पाएका छन् । प्रमुखमा चयन भएका घिसिङले नेपाल रग्बी संघको अध्यक्षले एसिया रग्बीमा महत्त्वपूर्ण जिम्मेवारी पाउनु नेपालकै लागि खुसीको विषय भएको बताए । उनले भने,‘अहिलेसम्म नेपालले यति ठूलो जिम्मेवारी पाएको थिएन, यो नेपालको लागि गौरवको विषय हो ।’

गत वर्षमात्रै एसिया रग्बीको कार्यसमिति सदस्यमा घिसिङ निर्वाचित भएका थिए । यो कमिटीले एसिया रग्बीको आर्थिक पाटोलाई हेर्नेछ । उक्त कमिटीले एसिया रग्बीका सदस्य रहेका ३४ देशका संघहरूको आर्थिक पक्ष नियमानुसार पारदर्शी छ, छैन भन्नेसँगै त्यसबारे अनुगमन र अनुशिक्षण पनि गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१