दमक भ्यूटावर लगानी र महत्वका हिसाबले देशको पहिलोः मन्त्री श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७७, मंगलवार ०६:०२

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गरेका छन् ।

उनका दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह, दमक बसपार्क तथा गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिए । सोक्रममा उनले दमक –३ स्थित निर्माणाधीन भ्यु टावर निर्माणको अवस्थाबारे जानकारी लिनुभएको वडाध्यक्ष नवीन बरालले बताए । स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दमक भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर भएको विचार व्यक्त गरे ।

नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करीब ३० प्रतिशत काम पूरा भएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सोका लागि रु ४० करोड विनियोजन गरिसकेको छ । त्यहाँ रु डेढ अर्बभन्दा बढीको सरकारी लगानी रहनेछ । भ्यू टावर निर्माणको जिम्मा चिनियाँ कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ॐसाई जेभीले लिएका छन् । भ्यू टावर निर्माणका लागि स्थानीयवासीले पाँच बिघा जग्गा निःशुल्क रुपमा उपलव्ध गराएका थिए ।

पच्चीस तलाको पक्की संरचना र त्यसमाथि थप पाँच तलाको स्टिलको संरचना बन्ने जनाइएको छ । भ्यू टावर निर्माणपछि त्यहाँ विदेशी पर्यटकसमेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख गीता अधिकारीले बताए ।

मन्त्री श्रेष्ठसँंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी तथा मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारी संलग्न थिए । मन्त्री श्रेष्ठसहितको सो टोलीलाई दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनासहित स्थानीयवासीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०