किबी खेतीबाट मनग्य आम्दानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७७, बुधबार ०४:५७

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती सुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।

वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती सुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाइलाई कोसेली दिन आग्रह गरेका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसल समेत छ तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्चित किबी किसानाको रुपमा चिनिएका छन् ।

घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले सुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । व्यावसायिक रुपमा सुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।

पाँच वर्षअघि तीन सय बोटबाट सुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार ५ सय केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताए । बाँझो जमिनको सदुपयोग गरी सुरु गरिएको किबी शद्ध अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताए ।

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४ सयदेखि रु ६ सयसम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।

धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रुपमा खेतीको सुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ । स्थानीय सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ । कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०