बागलुङको तमानखोलामा निर्बाध पढाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७७, बुधबार ०५:४८

बागलुङ । बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन जनासम्म विद्यार्थी थिए । मास्क लगाएका भने फाटफुट्ट मात्र देखिन्थे ।

प्रधानाध्यापक कुमबहादुर छन्त्यालले असोजयता पढाइ नियमित भइरहेको बताए । “कोरोनाको जोखिमबाट बच्न सक्दो स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएका छौँ”, उनले भने, “सङ्ख्या पनि थोरै भएको र विद्यार्थी टाढाटाढाबाट आउने हुँदा दुई चरणमा पढाउन भने सकिएन ।” गाउँमा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न सम्भव नभएपछि प्रत्यक्ष पठनपाठन सुरु गरिएको प्रअ छन्त्यालको भनाइ छ । गाउँपालिकाले पनि सरकारी निर्देशिकाका आधारमा जोखिम आँकलनपश्चात् स्वास्थ्य सुरक्षा सावधानीसहित प्रत्यक्ष शिक्षण सिकाइ सुरु गर्ने निर्णय गरेको थियो ।

वडा नम्बर ६ नर्जाखानीको विष्णु आधारभूत विद्यालयका प्रअ ओमप्रसाद छन्त्यालले विद्यार्थीको भविष्य हेरेर पठनपाठन सुरु गरिएको बताए । “महिनौँसम्म विद्यालय बन्द भयो, अब पनि नपढाउने हो भने विद्यार्थीले कसरी परीक्षा दिने ?”, उनले प्रश्न गरे । प्रअ छन्त्यालका अनुसार कक्षा १ देखि ५ सम्मको बिहान ८–१२ र ६ देखि ८ कक्षाको दिउँसो १२–४ बजेसम्म पढाइ भइरहेको छ ।

भौतिक दूरी कायम गराउन एउटा मेचमा दुई जना विद्यार्थी राख्ने गरिएको छ । विद्यालय छिर्नुअघि साबुनपानीले हात धुने र मास्क लगाउने कुरामा पनि विद्यार्थीलाई सचेत पारिएको प्रअ छन्त्यालले सुनाए । गाउँपालिकाले शिक्षक, विद्यार्थी र कर्मचारीका लागि मास्क र सेनिटाइजर उपलब्ध गराएको उनको भनाइ छ ।

सोही ठाउँबाट कक्षा १० पढ्न छिमेकी ५ नम्बर वडाको शान्ति माध्यमिक विद्यालय जाने मानकुमारी छन्त्यालले कक्षा नियमित भएकामा खुशी व्यक्त गरिन् । शान्ति माविले पनि दैनिक दुई चरणमा प्रत्यक्ष शिक्षण सिकाइ सञ्चालन गरिरहेको छ । गाउँपालिकाभित्र सक्रिय संक्रमितको सङ्ख्या शून्य रहेको स्थितिमा स्वास्थ्य सजगता अपनाउँदै पढाइ नियमित गरिएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले बताए ।

“प्रविधि र अन्य वैकल्पिक माध्यमको पहुँच बाहिर रहेका बालबालिकाको सिकाइ सुनिश्चित गर्न विद्यालय नै खोल्नु परेको हो”, उनले भने, “जोखिम बढ्दाको दिन त फेरि कक्षा बन्द गर्नुपर्ने हुनसक्छ ।” सिकाइ प्रभावकारी बनाउन वैकल्पिक र प्रत्यक्ष दुवै माध्यममा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र शिक्षकलाई पुरस्कृतसमेत गरिने भएको छ ।

गाउँपालिकाले विद्यालय खोल्नका लागि एक पटकमा ५० भन्दा कम विद्यार्थी बोलाउने, विद्यालय छिर्नुपूर्व ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, कक्षाकोठामा १५ जनासम्म राख्ने, एउटा मेचमा दुई विद्यार्थी बस्नुपर्ने र मास्कको नियमित प्रयोग गर्ने मामदण्ड तोकेको थियो ।

यद्यपि सबै विद्यालयमा तोकिएका स्वास्थ्य सुरक्षाका उपाय अबलम्वन नगरिएको पाइएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने बताए । उनले विद्यालय नगइ अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिक्न चाहाने र प्रविधिको पहुँचमा रहेका विद्यार्थीलाई सोहीअनुसार प्रबन्ध गरिएको बताए ।

गाउँपालिकाले विद्यालयमा पढाइ सुरु गर्नुअघि बाहिरबाट आउने ४५ जना शिक्षकको ‘पिसिआर’ जाँचसमेत गरेको थियो । मंसिरभित्रैमा विद्यार्थीलाई पहिलो त्रैमासिक परीक्षा दिलाउने गाउँपालिकाको योजना छ । सदरमुकामदेखि ३० कोष पश्चिममा अवस्थित तमानखोलामा २१ सामुदायिक र दुई संस्थागत विद्यालय छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०