नेपाल सरकार र ओमान सरकारबीच प्रवेशाज्ञासम्बन्धी ऐतिहासिक सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७७, मंगलवार ०४:२९

नेपाल सरकार र ओमान सरकारबीच प्रवेशाज्ञासम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । नेपाली तथा ओमानी कूटनीतिज्ञ, विशेष सेवाकालीन तथा सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी दुई देशबीच सम्झौता भएको हो ।

सोमबार (१९ अक्टोबर) ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार उल्लिखित राहदानीवाहक दुवै देशका नागरिकले एकअर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिन (तीन महिना) सम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिविधिहरू बढाउन सहयोग पुग्ने बताइएको छ।

त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्नेछ।

हस्ताक्षर कार्यक्रमपश्चात आ–आफ्नो धारणा साटासाट गर्दै दुवै मुलुकका राजदूतहरूले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशील र सक्रिय बनाउनुपर्ने विषयमा जोड दिनुभयो । सो अवसरमा राजदूतहरूले कोरोनाको प्रभावका बाबजुद देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनुपर्ने विचार साटासाट गर्नुभयो ।

बताइएअनुसार छलफलमा द्विपक्षीय लगानी प्रवर्द्बन, पर्यटन प्रवर्द्बन एवम् आपसी हितका विषयहरू पनि समावेश भएका थिए । उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावास ओमानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०