मन्त्रिमण्डल पुनर्गठनमा कसले के भने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७७, मंगलवार ०५:०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु भएको छ । बैठकले तय गरेका चार वटा एजेण्डामध्ये पहिलो एजेण्डा अर्थात मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल प्रारम्भ भएको छ ।

आजको बैठकले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनका लागि तय गरेका एजेण्डा

१. मन्त्रिपरिषद् पुनर्गठन
२. संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति
३. सांगठनिक एकताका बाँकी काम
४. विविध यसमा विभिन्न एजेण्डा समावेश

आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका लागि सैद्धान्तिक छलफल प्रारम्भ गरिएको थियो । एक सचिवालय सदस्यका अनुसार सुरुमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए । स्थायी कमिटीको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्न नेताहरु एकमत देखिएका छन् ।

प्रधानमन्त्रीले पुनर्गठनका विषयमा सुरुवाती तीनवटा विकल्पका कुरा गरेका थिए । बैठकमा उनले भने, ‘हामीले विभिन्न विकल्पमा छलफल गरौँ । पहिलो विकल्प सबैजनालाई हटाएर नयाँ व्यक्ति लैजाने कुरा हुनसक्छ । यो विकल्प कत्तिको उचित होला ? अर्को दुई वर्ष पूरा भएका व्यक्तिलाई फिर्ता गर्ने र नयाँ पठाउने विकल्प हुनसक्छ । तेस्रो विकल्प भनेको अहिलेको खाली ठाउँमा थपौँ, केहीलाई फिर्ता बोलाउनेगरी पनि जान सकिन्छ ।’

प्रधानमन्त्री बोलिसकेपछि बोलेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पुनर्गठनमा बोल्ड निर्णय गर्नूपर्नेमा जोड दिए । उनले बैठकमा भने, ‘मैले सबै हटाउने त भन्दिन । तर, बोल्ड निर्णय आवश्यक छ । सबैजनालाई फिर्ता गरेर फेरि राम्रो काम गर्नेलाई दोहोर्याउन पनि सकिन्छ । काम गर्ने र युवा पुस्तालाई अगाडि सार्नुपर्छ । हामीले वरिष्ठ र योग्यहरुलाई स्थान दिनेगरी पुनर्गठनमा केन्द्रित हुनुपर्छ । जनतालाई काम गरेको अनुभूति दिनेगरी पुनर्गठन गरौँ ।’

प्रचण्डले बोलिसकेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव विष्णु पौडेलले आफ्ना धारणा राखेका थिए । सबैका धारणा जनतालाई सरकार भएको अनुभूति दिनेगरी काम गर्ने व्यक्ति पठाउनु पर्नेमा केन्द्रित थिए । त्यसका लागि प्रचण्डले भनेजस्तै थप छलफल गरेर पुनर्गठन गरौँ भन्नेमै धेरैले धारणा राखेका थिए ।

पुनर्गठनका विषयमा दुई जना सचिवालय सदस्यले भने अरुको भन्दा फरक धारणा थिए । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले आफूलाई केन्द्रमा राखेर बैठकमा धारणा राखेका थिए । उनले भने, ‘यो विषयमा धेरै बहस नगरौँ । यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्र हो ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले योग्य पात्रहरुलाई मन्त्रिपरिषदमा लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘योग्य पात्रहरुलाई लैजाने कुरामा बहस केन्द्रित गरौँ । कसलाई हटाउने वा कसलाई राख्ने भन्ने विषयमा सैद्धान्तिक कुराको टुंगो लगाउनु आवश्यक छ ।’ उनले आफू हट्दा पनि केही फरक नपर्नेगरी बैठकमा धारणा राखेका स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०