पेरिसडाँडाबाट प्रचण्डको सन्देश : पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७७, सोमबार ०५:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको छ । पूर्वएमाले र पूर्वमाओवादीले प्रयोग गर्दै आएका क्रमश: धुम्बाराही र पेरिसडाँडालाई पार्टी एकतापछि एकीकृत पार्टीको केन्द्रीय कार्यालय बनाइएको थियो ।

तर, पार्टी एकताको समयमा एक पटक पुगेका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पेरिसडाँडा गएनन् । पूर्वमाओवादी समूहले पार्टी कार्यालयलाई प्रतिष्ठाकोरुपमा उठाउँदै आएको थियो ।

 

सचिवालयका केही बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र बाँकी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेका थिए । तर, पेरिसडाँडामा नेता कार्यकर्ताहरु उपस्थित नै नहुने अवस्था बन्यो ।

पूर्वमाओवादी धारका नेताहरुले नेतृत्वको चर्को आलोचना गर्दै भाडामा दिनुपर्ने भन्दै नेतृत्वलाई ब्यंग्य हानेका थिए । पार्टीको पछिल्लो विवाद समाधान भएसँगै नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पेरिसडाँडामा बैठक बस्ने सहमति भयो ।

 

ओली प्रचण्डको सहमति अनुसार आज पहिलो पटक पेरिसडाँडामा बैठक बस्यो । यो बैठकले सरकारको पूर्ण जिम्मेवारी ओलीलाई र पार्टीको सम्पूर्ण कार्यकारी अधिकार प्रचण्डलाई हुने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनको रुपमा लिइएको छ ।

महाधिवेशनको तयारी लगायतका काम पनि अब पेरिसडाँडाबाटै सुरु गर्नेगरी प्रचण्डले तयारी थालेका छन् । दुबै कार्यालयलाई बराबर तरिकाले प्रयोग गर्नेगरी कार्ययोजना बनाएर प्रचण्डले पार्टीमा आफ्नो कार्यकारी अधिकारको प्रयोग सुरु भएको सन्देश दिएका एक नेताले बताएका छन् ।

पेरिसडाँडामा पहिलो पटक बसेको सचिवालय बैठकमा अध्यक्षसहित सबै सचिवालय सदस्यलाई उस्तै खालको कुर्सी र टेबलको व्यवस्था गरिएको छ। पार्टी कार्यालयको माथिल्लो तलामा गोलो घेरामा बैठकको ब्यवस्थापन गरिएको छ ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएसँगै पेरिसडाँडामा नेकपाको पार्टी बैठक बस्न सकेको थिएन ।

अध्यक्षद्वय ओली र प्रचण्डको कार्यकक्षसमेत रहे पनि ओली ०७५ जेठ ३ गतेपछि त्यहाँ पुगेका थिएनन् । भदौ २६ गतेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई सरकारको र प्रचण्डलाई पार्टीको कामको जिम्मेवारी दिएको थियो ।

दुई वर्षपछि बैठक बसेकाले पेरिसडाँडामा फेरि एक पटक चहलपहल सुरु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१