नेपाललाई विश्व रग्बीमा सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७७, शुक्रबार ०६:२९

रग्बीको एसियाली प्रशासकीय निकाय एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी समक्ष सिफारिस गरेको छ ।

नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्यता प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । एसिया रग्बीका अध्यक्ष कसिस एल धलाईद्वारा जारी विज्ञप्तिमा नेपालसहित तीन राष्ट्रले विश्व रग्बीको पूर्ण सदस्यताका लागि सबै प्रक्रिया पु¥याएकाले सिफारिस गरिएको उल्लेख गरिएको छ । पछिल्लो समयमा रग्बी खेलको विकास गर्दै आइरहेको नेपालले दुई वर्षअगाडि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो । दुई वर्षअगाडि कजाखस्तानको आस्तानामा भएको एसिया रग्बीको बैठकले नेपाललाई एसियाको पूर्ण सदस्य राष्ट्र दिने निर्णय गरेको हो ।

नेपालले विश्व रग्बीको सदस्यताका लागि दिएको निवेदन आगामी नोभेम्बरसम्म सुनुवाई हुने नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । एसियाका अध्यक्ष कसिसले नेपालसहित तीन राष्ट्रलाई पछिल्लो समय रग्बी विकासमा गरेको मिहिनेतप्रति बधाईसमेत दिएका छन् । इरान र लाओस यसअघि नै विश्व रग्बीको एसोसिएट सदस्य राष्ट्र हुन् । इरानले सन् २०११ देखि र लाओस सन् २००४ देखि विश्व रग्बीसँग आबद्धता लिएका थिए । दुवै राष्ट्रले आफ्नो घरेलु संरचना फिफ्टिन ‘ए’ साइड र सेभेन ‘ए’ साइडका प्रतियोगिता तथा महिलाको रग्बी लिग प्रतियोगिताको राम्रो संरचना निर्माण गरेपछि एसिया रग्बीको नजरमा परेको हो ।

नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो । त्यससमयदेखि ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरि सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजनापश्चात् एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको हो । जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो । त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो । उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाइमा रहेको कालापत्थरसम्म पु¥याएको थियो ।

एसिया रग्बीको कार्यकारी सदस्यसमेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले विश्व रग्बीको पूर्ण सदस्यता पाएमा नेपालले देशभित्र रग्बीको विकासमा ठूलो फड्को मार्ने र अन्तर्राष्ट्रियस्तरमा पनि प्रदर्शन सुधार गर्ने विश्वास व्यक्त गरे । खेलाडी, प्रशिक्षक र संघका हरेक सदस्यको योगदानबाट छोटो समयमा पनि नेपाली रग्बीले अन्तर्राष्ट्रियस्तरमा आफूलाई स्थापित गरिरहेको घिसिङले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१